• २४ असार २०८१, सोमबार

उन्नत जातका बाख्रा उत्पादन हुँदै

blog

तनहुँ (बन्दीपुर), असार २१ गते । ८० हेक्टरमा फैलिएको तनहुँको सरकारी बाख्रा फार्ममा उन्नत जातका पाठापाठी खेलिरहेका छन्, बाख्रा र बोका एउटै खोरमा रमाइरहेका देखिन्छ । एकातिर ब्याएका बाख्राबाट दुध निकालेर चिज बनाउने काम पनि भइरहेको छ भने अर्कोतिर स्थानीय खरी जातका बाख्रामा व्रmस गराउने किसान पनि त्यहाँ देखिन्छ । 

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम अन्तर्गत त्यहाँका सारपानी र छाप गरी दुईवटा फार्ममा बाख्राका लागि भइरहेका गतिविधि हुन् यी । अस्टे«लिया, भारत र साउथ अफ्रिकाबाट उन्नत जातका बोका ल्याएर सुरु भएको सो अनुसन्धान केन्द्रमा हाल विभिन्न उमेरका बाख्रा तथा बोका ८४९ वटा छन् ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख राजु कँडेलका अनुसार यो अनुसन्धानमा अधिकांश बोयर बाख्रा अस्ट्रेलियाबाट ल्याइएको हो । यहाँ उन्नत जातका बोका उत्पादन गरी किसानलाई बेच्ने गरिएको छ । चालु आर्थिक वर्षमा मात्र ३२ वटा जिल्लालाई १०१ बोयर बाख्रा बेचिएका छन् । त्यस्तै सान, बारबारी र खरी गरी १४ वटा बाख्रा नौ वटा जिल्लामा बिक्रीवितरण गरिएको छ ।

मासुका लागि बाख्राको प्रजनन र विकासका लागि मूल बथान व्यवस्था गरी अनुसन्धान जारी रहेको बताउँदै उहाँले खरी, बारबारी र जमुनापारी बाख्रा व्यवस्थापन तथा त्यसको स्तरोन्नतिका लागि यहाँ अनुसन्धान भइरहेको बताउनुभयो । बाख्राको दुधका लागि पनि यहाँ अनुसन्धान कार्य जारी रहेको छ । कँडेलले भन्नुभयो, ‘सान बाख्राको प्रजनन र विकासका लागि मूल बथान व्यवस्थापन तथा सो बाख्राको दुध र चिज उत्पादन गरी अनुन्धान जारी रहेको छ ।”

गत आवमा सो अनुसन्धान केन्द्रबाट तीन हजार ८२१ लिटर दुध तथा ३७८ केजी चिज उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत आवमा विभन्नि जातका ३६० पाठापाठीको उत्पादन भएको थियो भने बाह्य अनुसन्धान तथा बाख्रा स्रोत केन्द्रहरूबाट ८२१ वटा बोयर किसानलाई वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।  

पशुको गार्हस्थ उत्पादनमा बाख्राको योगदान १२ प्रतिशत रहेको छ । नेपालमा ४३ प्रतिशत घरधुरीले बाख्रा पालिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा बाख्राको सङ्ख्या एक करोड ३९ लाख ९० हजार ७०३ बाख्रा रहेका छन् । बोयर जातका बाख्राका कारण बाख्राको उत्पादन वृद्धि भएको दाबी गर्दै प्रमु्ख कँडेलले उत्पादन बढेकाले आयात घटेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खसीको मासुमा नेपाल लगभग आत्मनिर्भर नै छ । दसैँको समयमा अलिकति आयात गर्नु पर्छ, त्यसबाहेकको समयमा नेपालकै उत्पादनले पुग्ने गरेको छ ।”