• १३ साउन २०८१, आइतबार

लिचीका लागि प्रख्यात थोर्गा

blog

गुल्मीको थोर्गा च्युरेकमा फलेका लिची । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, असार २० गते । उखु, गुड र खुदोका लागि प्रसिद्ध गुल्मीको थोर्गा च्युरेक अहिले लिचीका लागि प्रख्यात छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका –१ मा अवस्थित यस स्थान कृषि उपजका लागि नमुना गाउँ नै बनेको छ । 

कहिले उखु, गुड र खुदोबाट प्रशस्त आम्दानी लिँदै आएका यहाँका किसान यो सिजनमा भने नगदे बालीको रूपमा रहेको लिचीबाट राम्रो आम्दानी लिँदै आएका छन् । साढे चार सय घरमध्ये साबिक १, २, ३ वडाका प्रत्येक घरमा न्यूनतम १० बोटदेखि एकसय बोटसम्म लिचीका बोट रहेका छन् । 

लिची उत्पादक कृषक तारानाथ ज्ञवालीले लिचीबाट राम्रो आम्दानी समेत गर्दैआएको बताउनुभयो । उहाँ मात्र होइन, अर्का लिची उत्पादक कृषक ओम ज्ञवालीले पनि बारीको डोरा भरी लिचीका बोट लगाउनुभएको छ । अहिले ३० वटा लिचीका बोटले आम्दानी दिइरहेको ज्ञवालीको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘सिजनमा रोगव्याधि नलाग्दा डेढदेखि दुई लाखसम्म आम्दानी हुन्छ ।’ लिची विक्री वितरणका लागि बजारको समस्या नभए पनि मूल्यमा एकरूपता नहुँदा भने कृषकले उचित मूल्य नपाएको ज्ञवालीको भनाइ छ । ‘सिजनमा एकै पटक लिची पाक्छ । पाकेपछि धेरैदिन राखे कुहिन्छ । त्यसैले खरिदकर्ताले जति भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ’ ज्ञवालीले भन्नुभयो । 

यो वर्ष वडा कार्यालयको पहलमा लिचीमा लाग्ने रोग, पहिचान र लिची खेती प्रवर्धनका लागि कृषकलाई सहयोग गरिएको थियो । लिची उत्पादक कृषकलाई वडाबाट एक लाख रुपियाँ र पालिकाबाट १० लाख रुपियाँ तथा कृषि ज्ञान केन्द्रले सहयोग गरेका छन् । कृषकलाई ढुसी, गवारो, भिटामिन, औषधि उपलब्ध गराएको, सिँचाइका लागि फ्यारो ट्याङ्की (घैँटो) १५ वटा घैँटा बनाइएको छ । पहिला पनि २५ वटा घैँटा थिए । सुक्खा स्थानमा ३० वटा घैँटो बनाए यहाँ सिँचाइ पूरा हुन्छ । 

वडा सदस्य घनश्याम ज्ञवालीले भन्नुभयो, ‘उपचार गरेपछि अहिले राम्रो फल दिन सुरु गरेको छ ।’ लिचीबाट यस पटक करिब दुई करोड रुपियाँ कारोबार भएको अपेक्षा गरिएको स्थानीय ज्ञवालीले बताउनुभयो । कृषि ज्ञान केन्द्र र मालेपाटन पोखराको समन्वयमा लिचीमा लाग्ने ढुसी, फलको फेदमा लाग्ने गवारोको विषयमा अनुसन्धान थालिएको उहाँले बताउनुभयो । आगामी वर्ष लिची कृषक समूह बनाई समितिद्वारा मूल्य निर्धारण, टिप्नेदेखि विक्री वितरण गर्ने योजना रहेको ज्ञवालीले बताउनुभयो । 

यहाँ उत्पादन भएको लिची प्रायः सदरमुकाम तम्घास, टक्सार र रिडीबाट साना व्यवसायी आएर लैजाने गरेका छन् । बुटवलबाट आएका व्यवसायीले बगैँचा नै खरिद गरेर लिची लैजाने गरेका छन् । व्यावसायिक रूपमा लिची उत्पादनलाई थप व्यवस्थित र आकर्षित गराउन बगैँचाको व्यवस्थापन गरिने बताउनुभयो ।