• १४ असार २०८१, शुक्रबार

हरिवनले ल्यायो ६२ करोड बजेट

blog

हरिवनको सातौँ नगरसभा समारोह । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार २० गते । सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि ६२ करोडभन्दा बढीको बजेट ल्याएको छ । बुधबार प्रारम्भ भएको सातौँ नगर सभामा नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले ६२ करोड ९१ लाख ४७ हजार रुपियाँ बराबरको अनुमानित बजेट पेस गर्नुभएको हो । 

सङ्घीय सरकारबाट समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी ४० करोडसहित राजस्व बाँडफाँडबाट १० करोड ९३ लाख ७६ हजार, घरजग्गा रजिष्ट्रेसन शुल्क तीन करोड, प्रदेश सरकारबाट प्राप्त सवारी साधन कर एक करोड, प्रदेश समानीकरण अनुदान ९६ लाख ९८ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, आन्तरिक स्रोत चार करोड ५० लाख ७३ हजार र नगर विकास कोष ऋण अनुदान दुई करोड प्राप्त हुने अनुमान गरिएको छ । 

स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट पेस गरी १५ दिनभित्र पारित गर्नुपर्ने व्यवस्था रहेकोमा हरिवन नगरपालिकामा भने फरक दलबाट निर्वाचित जनप्रतिनिधिबीचको विवादले १० दिन ढिलो गरी नगर सभा प्रारम्भ गरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ । हरिवनमा नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुख बुढाथोकी विजयी हुनुभएको छ । 

सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित नगर सभाको उद्घाटन समारोहमा मधेश प्रदेश सभाका सदस्य जवाहरलाल कुशवाहा, निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीलगायतले मन्तव्य राख्नुभयो । सर्लाहीमा २० वटा पालिकामध्ये अब हरिपूर्वा नगरपालिकाले मात्रै नगर सभा गर्न बाँकी छ । हरिपूर्वामा करिब तीन महिनादेखि नगरपालिका कार्यालयमा लगाइएको तालाबन्दी केही दिनअघि मात्रै खुलेको छ ।