• १३ साउन २०८१, आइतबार

कफी खेतीमा कृषकको आकर्षण बढ्दो

blog

कफी खेती नियाल्दै कृषक पुस्करनाथ बन्जाडे । तस्विर : गणेश खनाल

गणेश खनाल

अर्घाखाँची, असार २० गते । गबारो कीराका कारण विस्थापित अर्घाखाँचीका कफी कृषक फेरि व्यावसायतर्फ आकर्षित भएका छन् । गत दुई वर्षदेखि व्यावसायिक उत्पादन छाडेका कृषक फेरि समूह बनाएर उत्पादनमा जोडिएका छन् । 

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका –३ खसर्काका महिला जनजागृति महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । २० जनाको समूह बनाएर महिला कफी खेतीमा लागेका हुन् ।

कफी खेतीबाट पर्याप्त आम्दानी हुनेगरेको कफी महिला समूहकी अध्यक्ष मीना भुसालले बताउनुभयो । मकैखेती र गहुँखेती गर्ने बारीमा अहिले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताउनुभयो । अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको कृषकको भनाइ छ ।

भारतमा रोजगारी छाडेर शीतगङ्गा –३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनी जग्गामा झन्डै १० हजारभन्दा बढी कफीका बिरुवा लगाएको बताउनुभयो । ठाडा र जुकेनामा जग्गा किनेर कफी खेतीमा लागेको उहाँको भनाइ छ । 

अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदैआएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताउनुभयो । आठ सय मिटरदेखि एक हजार ६०० मिटरसम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । अर्घाखाँचीको कफी वर्षौदेखि विदेशमा बिक्री हुँदैआएको छ । शीतगङ्गा नगरपालिका, छत्रदेव गाउँपालिका, सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिकामा विगतदेखि कफी खेती गरिंदैआएको छ । 

अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिंचाइ टङ्कीलगायत कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दैआएको छ । गबारो कीराबाट जोगाउन पनि रोकथामको काम भइरहेको पाण्डेको भनाइ छ ।