• १३ साउन २०८१, आइतबार

बाँकेमा २५ प्रतिशत मात्र रोपाइँ

blog

बाँकेको कोहलपुरमा रोपाइँ गर्दै किसान । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार २० गते । बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार हालसम्म पनि राम्रो वर्षा नभएकोले अपेक्षित रोपाइँ हुन नसकेको हो। 

कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख शकिल अहमदले यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकोले सबैतिर रोपाइँ हुन नसकेको बताउनुभयो । उहाँका अनुसार हालसम्म भएको २५ प्रतिशत रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ । 

प्रमुख अहमदले हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको र सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको जानकारी आएको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षहरु झै यो वर्ष पनि बाँकेमा ढिलोगरी धान रोपाइँ सुरु भएको हो । असार १५ गते अघिसम्म बाँकेमा पानी परेको थिएन । धेरै किसानले धानको बीउ (ब्याड) राख्न पाएका थिएनन् । सिँचाइ सुविधा भएको ठाउँमा मात्र बीउ राखिएको थियो । कतिपय किसानको बीउ अझै रोप्ने बेला नै भएको छैन । अलि पहिला बीउ राखेका र सिँचाइको पहुँचमा रहेका किसानले यतिबेला रोपाइँ गरिरहेका छन् ।

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुन सकेको छैन । धानमा आत्मनिर्भर रहेको बाँकेमा समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपेपनि पछि बाढीले क्षति पुर्याउने गर्दा किसानहरु समस्यामा पर्ने गरेका छन् । 

ढिलो गरी रोपाइँ हुने हुँदा यस पटक पनि उत्पादनमा प्रभाव पर्ने किसानले जनाएका छन् । बाँके डुडुवा ५ का किसान राजितराम मौर्यले कहिले पानी नपरेर उत्पादन घट्ने गरेको र कहिले बढी पानी परेर बाढी र डुबानबाट क्षति भै उत्पादन घट्ने गरेको गुनासो गर्नुभयो । उहाँले समयमा मलखाद नपाउँदा पनि उत्पादनमा प्रभाव पर्ने गरेको जनाउँदै मलखादका लागि हरेक वर्ष सास्ती भोग्नुपरेको बताउनुभयो।