• १३ पुस २०८१, शनिबार

लिमी फर्कियो प्रहरी

blog

जिल्लाबाट फर्किएपछि खुलेको सीमा प्रहरी चौकी सुनखानी लिमी । फाइल तस्बिर

रावन रावत
हुम्ला, असार १९ गते ।
 नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको सुनखानीमा रहेको चौकीमा प्रहरी पुगेका छन् । हिमपात हुँदा गत कात्तिक तेस्रो हप्ता सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा फिर्ता आएका प्रहरी दुई नाका खुलेपछि पुनः लिमीको प्रहरी चौकीमा फर्किएका हुन् ।

प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जिल्लामा बस्दै आएका सीमा प्रहरी चौकी लिमीको सुनखानीका प्रहरी अहिले फर्किएको बताउनुभयो । हिउँ परेपछि चिसो हुने र हिउँदको समयका कुनै घटना पनि नहुने भएपछि बर्सेनि कात्तिक महिनापछि सो चौकीका प्रहरी जिल्लामा फर्किँदै आएका छन् ।

प्रहरी चौकीमा वैशाखदेखि असार महिनाभित्र फिर्ता हुने गर्छन् । दुई नाकामा जमेको हिउँ पग्लेपछि प्रहरी चौकीमा फर्किने गर्छन् । प्रहरी नायब उपरीक्षक भट्टराईले लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको हिउँ पन्छाएर बाटो खुलेपछि प्रहरी लिमीको चौकीमा पुगेर ड्युटीमा खटिएको बताउनुभयो ।

प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जना प्रहरी चौकीमा पुगेका हुन् । यसैगरी, यसअघि नाम्खा गाउँपालिका–५ को मुचु प्रहरी चौकीमा सरेको सीमा प्रहरी हिल्साको प्रहरी पनि हिल्सामा फर्किएका छन् । यसबाट उत्तरी क्षेत्रका सबै प्रहरी चौकीमा प्रहरी पुगेको प्रहरीले जानकारी दिएको छ ।