• २३ वैशाख २०८१, आइतबार

आइसीसी एकदिवसीय विश्वकप छनोट

नेपालले दियो आयरल्यान्डलाई २६९ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १९ गते । जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई दुई सय ६९ नम्बरकाे लक्ष्य दिएको छ । 

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको छ । नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

नवौँ स्थानमा ब्याटिङ गर्न आउनुभएका गुलसनले ४२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाउनुभयो ।

सन्दीप लामिछानेले ३२ रन बनाउनुभयो । सन्दीपले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । कप्तान रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल आठ, ज्ञानेन्द्र मल्ल सात र करण केसी चार रनमा आउट हुनुभयो । किशोर महतोले अविजित एक रन जोड्नुभयो । 

बलिङका आयरल्यान्डका बेरी म्याकर्थी, क्रेईग योङ र मार्क अडेरले दुई दुई तथा कर्टिस चेम्बर, ग्रेथ डेनाली र एन्डी म्याकब्राइनले एक एक विकेट लिनुभयो । नेपाल छनोटको सुपर सिक्स पुग्नबाट बाहिरिएपछि प्लेअफ खेलेको हो । 

आयरल्यान्ड टेस्ट मान्यता प्राप्त टोली हो । नेपालले सातौँ स्थानका लागि आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै आयरल्यान्डसँगको भेट पक्का गरेको थियो । नेपालले आज यूएईविरुद्धको खेलमा टोलीमा रहेका प्रतिस जिसी र आरिफ शेखको स्थानमा किशोर महतो र कुशल मल्ललाई मौका दिएको छ । 

आयरल्यान्डविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र किशोर महतो ।