• १३ साउन २०८१, आइतबार

आलुको मूल्य घट्दा किसान मर्कामा

blog

बिक्री नभएपछि खाल्डोबाट सुकाउन र डाबो फाल्न निकालिएका आलु । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार १९ गते । 
हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।

सिमकोट गाउँपालिका –५ का कुम्म रोकायाले प्रतिकेजी ७० रुपियाँमा बिक्री भइरहेको आलु अहिले १५–२० रुपियाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

रोकायासँग अहिले सात क्विन्टलभन्दा बढी पुरानो आलु जमिन मुनी गाडेर राखेको अवस्थामा रहेको छ । उहाँले किन्न कोही नआउने र आफैँले बोकेर घर–घरमा पुर्‍याउनु पर्दा मोलमोलाई हुने गरेको गुनासो गर्नुभयो ।

नयाँ आलु समेत बजारमा आउन सुरु भएपछि पुरानो आलु भएका किसान झनै मर्कामा पर्न थालेका छन् ।

यसैगरी वडा नम्बर ६ का गोरी रोकायाले आफूसँग भएको नौ क्विन्टल आलुले बजार नपाएर जमिनमुनि गाडेर राखेको गुनासो गर्नुभयो । फाट्ट–फुट्ट बिक्री हुँदा पनि उपभोक्ताले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुहुँदै गोरीले आलु बिक्री नभएर कुहिएर खेर गएको समेत सुनाउनुभयो ।

गत असोज महिनामा जमिनबाट निकालिएका आलुलाई जमिनमुनि खाल्डो खनेर किसानले भण्डारण गर्दै आएका छन् ।

उद्योग वाणिज्य सङ्घका सदस्य टेकबहादुर रोकायाले उत्पादन धेरै बजार सानो भएको कारण किसानका आलु बिक्रीमा समस्या भए पनि सस्तोमा बिक्री गर्नु परेको बताउनुभयो । उहाँले किसानसँग अहिले पनि आठ सयभन्दा बढी पुराना आलु भएको तर बिक्री हुने सम्भावना नभएको बताउनुभयो । सडक सञ्जान नजोडिएका कारण हवाई मार्गबाट जिल्ला बाहिर आलु बिक्रीका लागि लैजान सक्ने अवस्था नभएकाले समस्या हुने गरेको हो ।