• २७ वैशाख २०८२, शनिबार

रिब्दिकोटको सडकले जनतालाई सास्ती

blog

रिब्दिकोट गाउँपालिका ५ को बतासे नजिकैको सडकमा फसेको सवारी साधनलाई निकाल्ने प्रयासमा स्थानीयहरु । तस्बिर : बिन्दु थापा

बिन्दु थापा
पाल्पा, असार १९ गते । 
सडकले सुविधा दिन्छ कि सास्ती ? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिनुपर्ने हो, तर रिब्दिकोट गाउँपालिकाको क्षेत्रमा पर्ने सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ ।

हार्थोक छहरा बतासे सडक खण्डअन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डाखुल्डी र हिलोका कारण साना तथा ठुला सवारी साधन सञ्चालनमा समस्या भएको छ । लगातार परेको अविरल वर्षाका कारण सडकमा भएका खाल्डाखुल्डीमा पानी भरिएकाले स्थानीयलाई हिँडडुल गर्न  कठिन भएको छ ।

बर्खाका कारण मुख्य सडक खण्डको रिब्दिकोट गाउँपालिकाको कार्यालय खस्यौलीदेखि कुसुम्खोला, गोहोदी हुँदै बतासेसम्मको सडकमा सवारी सञ्चालनमा र हिँडडुल गर्न समस्या भएको हो ।

रिब्दिकोट गाउँपालिकाका प्रमुख नारायणबहादुर कार्कीले भन्नुभयो, ‘‘गत वर्ष २५० जना स्वयम् सेवकको सहयोगमा आठ लाख बराबरको खस्यौलीदेखि बतासेसम्म खाल्डाखुल्डी पुर्ने काम भयो, मङ्सिरमा पुनः छ लाख खर्च गरेर बतासेसम्म मर्मत सम्भार गरियो तर वर्षा र सडकमा सवारी साधनको अत्यधिक चापले गर्दा प्रभावकारी हुन सकेन ।’’

प्रमुख कार्कीले आफू निर्वाचित भएर आएदेखि नै सडकका लागि पहल गरेको भए पनि सङ्घ र प्रदेश सम्बन्धित निकायले बेवास्ता नगरिदिँदा सडकको अवस्था सुधार गर्न नसकिएको बताउनुभयो । कार्कीले भन्नुभयो, “सोहोरसार र बाल उठाउन पालिकाबाट २५ लाख बजेट छुट्टाएका छौँ, प्रदेशले एक करोड बजेट विनियोजन गरेको छ । यही साउनदेखि काम सुरु गर्ने प्रक्रियामा छौँ ।”

राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरले रिब्दिकोट गाउँपालिकाले डबका, पालुङ, मैनादिका शाखा सडकहरू मर्मत सम्भार गर्दै आएको बताउनुभयो ।

यसैगरी, समाजवादीका केन्द्रीय नेता सोमप्रसाद पाण्डे सांसद भएको बेला हार्थोक छहरा सडकअन्तर्गत मैनादी–छहरा बजार सडकखण्ड स्तरोन्नतिका लागि ५० लाख बजेट विनियोजन भएको थियो । तर स्तरोन्नति भने जस्ताको तस्तै छ ।

स्थानीयवासी तथा नेपाली कांग्रेसका नेता दिवाकर अर्यालले भन्नुभयो, ‘‘सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था छैन, कहिले घर धुलोले छपक्कै छोपेको अवस्था हुन्छ । बर्खामा हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’’