• २३ वैशाख २०८१, आइतबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

blog

मलेसियालाई हराएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । बायोमास ओभल क्रिकेट मैदानमा मङ्गलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो लगातार तेस्रो उपाधि हो । 

जितका लागि दुई सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया १४.५ ओभरमा सबै विकेट गुमाएर ३१ रनमै समेटियो । मलेसियाका लागि मोहम्मद अक्रमले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहाेरो अङ्कको रन बनाउन सकेनन् । 

बलिङमा नेपालका लागि कप्तान अभिषेक तिवारीले पाँच विकेट लिनुभयो । उहाँले ६ ओभरमा एक मेडन राख्दै सात रन दिएर पाँच विकेट लिनुभएको हो । सन्तोष यादवले तीन तथा सागर गैरेले एक विकेट झार्नुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले अविजित एक सय १२ रन बनाउनुभयो । उहाँले ८९ बलमा १० चौका र दुई छक्काको सहयोगमा शतकीय इनिङ्स खेल्नुभएको हो ।

निरज यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८ र अशोक धामीले १२ रन जोड्नुभयो । बलिङमा मलेसियाका मुहम्मद अक्रमले तीन तथा अरेन अकील र मुहम्मद फदुलले एक एक विकेट लिनुभयो । 

सेमिफाइनलमा नेपालले सिङ्गापुर र मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपालले समूह चरणको खेलमा पनि मलेसियालाई ८४ रनले हराएको थियो । नेपाल समूह चरणदेखि अपराजित बन्दै च्याम्पियन बनेको हो ।