• १३ साउन २०८१, आइतबार

यार्सा र हिमाल खण्डकाव्यमाथि समालोचना

blog

हुम्ला समाचारदाता

हुम्ला, असार १८ गते । साहित्यकार वसन्त रोकाया (बाध्याताश्री) द्वारा लिखित दुई वटा खण्डकाव्यमाथि समालोचना गरिएको छ । खस भाषामा लेखिएको ‘यार्सा’ र नेपाली भाषामा लिखित ‘हिमाल’ खण्डकाव्यको एकसाथ स्थानीय समाजसेवी र बुद्धिजीवीद्वारा पहिलो पटक जिल्लास्तरमा समालोचना भएको हो । 

रोकायाले मागी र बालविवाहलाई विषयवस्तु बनाएर रचना गर्नुभएको ‘यार्सा’ खण्डकाव्य जिल्लाकै पहिलो खस भाषामा लेखिएको कृति हो । यसमा मागीविवाह तिरस्कार गरी प्रेमविवाहलाई रोज्दै रचनाका मुख्य पात्र यार्सा र हिमाल विवाहबन्धनमा बाँधिएको सन्दर्भलाई मुख्य विषयवस्तु बनाइएको साहित्यकार मधु बस्नेत शाहीले बताउनुभयो । यसमा हुम्लाको परिवेश, विषयवस्तु, स्थानीय पात्रका नाम, स्थानीय उखानटुक्का, प्रेमको सुरुवातदेखि विवाह गर्ने अवस्थामा पुग्दासम्मको परिवेशलाई यथार्थपरक र वस्तुनिष्ठ किसिमले कृतिमा कोरिएको चर्चा गर्नुभयो । 

समाजसेवी एवं अध्ययता राजबहादुर रोकायाले यार्साको पछिल्लो रूप हिमाल भए पनि भाषा फरक भएका कारण पाठकलाई अध्ययन गर्न कठिन भएको चर्चा गर्नुभयो । उहाँले दुवै कृति यथार्थपरक भएको बताउनुभयो । मानसरोवर माविका नेपाली विषयका शिक्षक राजबहादुर बुढाले दुर्गममा बसेर कृति रचना हुनु आफैँमा स्वागतयोग्य कार्य भएको बताउनुभयो । ५० पृष्ठको यार्सा र ५२ पृष्ठको हिमाल खण्डकाव्य सम्पूर्ण रूपमा हुम्ला र कर्णालीको वास्तविकता बाहिर ल्याउन सफल भएको उहाँको भनाइ छ । सो विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक राजबहादुर शाहीले स्वच्छन्दतावादी धारा अँगालेर खण्डकाव्य कोरिएको चर्चा गर्नुभयो ।