काठमाडौँ, असार १७ गते । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।
साउन महिना भगवान शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् ।
देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो । यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उहाँले बताउनुभयो ।
भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ ।
अपव्यय सबै शिवले नै लिनुहुने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ । साउनको पनि सोमबारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । रासस