काठमाडौँ, असार १५ गते । नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा सुरुदेखि नै चनाखो बन्न सरकारलाई आग्रह गरेको छ । परिसङ्घ नवनिर्वाचित पदाधिकारीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मुलुकको अर्थतन्त्रका विषयमा गरेको छलफलमा यस्तो पदाधिकारीले यस्तो आग्रह गरेका हुन् ।
बजेट कार्यान्वयनको सफलता समग्र आर्थिक प्रणालीको सफलतासँग जोडिने विषयवस्तु भएको तर विगतमा आवको सुरुवातमा खासै चासो नदिँदा पछि कार्यान्वयनमा अपेक्षित सफलता नमिल्ने भन्दै आव सुरुवातसँगै यसमा ध्यान दिनुपर्ने औँल्याइएको हो । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गर्नुभयो ।
उहाँले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि आग्रह गर्नुभयो । बजेट अनुकूल नै हुने गरी मौद्रिक नीति खुकुलो प्रकृतिको आउनुपर्ने भनाइ पनि अग्रवालको थियो । “बजेटले लक्ष्य राखेको छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक छ,” अग्रवालले भन्नुभयो ।
अध्यक्ष अग्रवालले हाल एफपिओ, मर्जर तथा एक्विजिसनमा भूतप्रभावी हुने गरी कर लगाउँदा लगानीकर्ता हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जाने भनाइ अग्रवालको थियो । उहाँले स्वदेशी उत्पादनको प्रवर्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढङ्गले प्रस्तुत हुन आग्रह गर्नुभयो । हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानीसम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसङ्घसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।