• १२ साउन २०८१, शनिबार

बेलायतको स्थानीय राजनीति

बढ्दै छ नेपाली मूलको सहभागिता

blog

करुण अर्याल

लन्डन, असार १५ गते । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको सक्रियता यहाँको राजनीतिमा पनि बढ्दो क्रममा देखिएको छ। 

बेलायतका विभिन्न तहका काउन्सिलमा अहिले एक मेयर, एक उपमेयर र १० जना काउन्सिलर पदमा नेपाली मूलका निर्वाचित भएका छन्। सन् २०१० अघि भने फाट्टफुट्ट नेपाली मात्र स्थानीय तहमा निर्वाचित भएका थिए। सन् २००९ पछि ब्रिटिस गोरखा परिवारलाई आवासीय सुविधा दिएसँगै नेपालीको सङ्ख्या बढेपछि राजनीतिक सहभागिता पनि बढेको हो। 

पूर्वब्रिटिस गोरखासमेत रहनुभएका बार्नेट बरोको काउन्सिलर लक्ष्यबहादुर गुरुङले नेपाली मूलका निर्वाचित भएपछि आफ्नो समुदायको आवाज काउन्सिलको च्याम्बरसम्म पुगेको र स्थानीय तहमा समुदायको पहिचान स्थापित भएको बताउनुभयो। सोही बरोबाट सन् २०१८ मा उपमेयरसमेत भइसक्नुभएका गुरुङले आफ्नो क्षेत्रमा नेपालीको समाधि स्थल बनाएको स्मरण गर्दै आफ्नो बरोले नेपालका विभिन्न विद्यालयसँग सहकार्यसमेत गरेको जानकारी दिनुभयो। उहाँ सत्तारूढ कन्जरभेटिभ पार्टीबाट निर्वाचित हुनुहुन्छ। 

विशेषगरी समुदायमा सक्रिय भएका नै राजनीतिमा बढी संलग्न भएका देखिन्छन्। हालै मात्र मेडवे बरोको काउन्सिलमा मेयरमा निर्वाचित निना गुरुङ कोभिड–१९ पछि मात्र राजनीतिमा सक्रिय रूपमा लागेको बताउनुहुन्छ। नेपाली मूलकी पहिलो महिला मेयर गुरुङले त्यस क्षेत्रमा सामाजिक अभियन्ताको पहिचान बनाउनुभएको थियो। शिक्षा, समानता र सामाजिक कार्यमा सक्रिय भएर लाग्नुभएको उहाँले निष्पक्ष रूपमा काम गरेर नेपाली समुदायलाई गौरवको अनुभव गराउने बताउनुभयो। २८ वर्षदेखि कन्जरभेटिभ पार्टीले जित्दै आएको उहाँको बरोमा लेबर पार्टीले ३३ स्थानमा जितेपछि उहाँलाई मेयर हुन सजिलो भएको थियो। 

रोयल बरो अफ ग्रिनबिचमा लेबर पार्टीका तर्फबाट काउन्सिलर पदमा जितेलगत्तै भएको पार्टीको आन्तरिक निर्वाचनमा उपमेयरमा निर्वाचित जित रानाभाट रोयल बरो अफ ग्रिनबिच नेपाली सोसाइटीको अध्यक्षसमेत हुनुहुन्छ। सामाजिक कार्यमा सक्रिय उहाँ कोभिडको समयमा उल्लेखनीय योगदान गरेबापत ग्रिनबिच र बेक्सले बरोबाट ‘लकडाउन हिरो’मा नामाङ्कित पनि हुनुभएको थियो।


स्थानीय तहमा नेपालीले सक्रियता बढाउँदै लगे पनि बेलायतको संसदीय यात्रामा भने कुनै पनि नेपालीले अहिलेसम्म सफलता पाउन सकेका छैनन्। सन् २०१७ को संसदीय निर्वाचनमा इङ्ग्ल्यान्डको डार्टफोर्ड क्षेत्रमा लेबर पार्टीका तर्फबाट उम्मेदवार हुनुभएका डा. बच्चुकैलाश कैनी निकटतम प्रतिद्वन्द्वी हुनुभयो। त्यसअघि र पछि कुनै पनि नेपालीले संसदीय निर्वाचनमा भाग लिएको पाइएको छैन। 

सन् २०१३ मा त्यस क्षेत्रबाट काउन्सिलर भइसक्नुभएका डा. कैनी भन्नुहुन्छ, “स्थानीय तहमा नेपाली निर्वाचित हुनु सुरुवात मात्र हो। नयाँ पुस्तालाई संसदीय यात्रामा जाने यो प्रवेशबिन्दु हो।” भारत, पाकिस्तान, बङ्गलादेशको चार/पाँच पुस्ता बेलायतमै रहँदै आएको र उनीहरूको सङ्ख्या पनि अधिक भएकाले उनीहरूलाई राजनीतिमा पहुँच बनाउन त्यति सङ्घर्ष गर्नु परेन। 

डा. कैनी भन्नुहुन्छ, “पार्टीको काममा निरन्तर लागेर विश्वास जित्न सके नेपाली पनि सांसद नहुने कुरै छैन।” प्रक्रियागत रूपमा भने यहाँको राजनीतिमा जान गाह्रो छ। अनुभव, दक्षता र योग्यताका आधारमा मापदण्डभित्र परेपछि संसदीय यात्रा तय गर्न सकिने उहाँको बुझाइ छ। उहाँ भन्नुहुन्छ, “काउन्सिल तहबाट समुदायको प्रतिनिधित्व हुने गरी एक किसिमको आवाज जान्छ। त्यसलाई अझ बलियो बनाउन हामी संसद्मा पुग्नैपर्छ।” उहाँ अबको संसद्मा उठ्ने तयारीमा हुनुहुन्छ। 

हाल लेबर पार्टीबाट हनस्लो बरोको काउन्सिलरमा पूर्वगोरखा विष्णुबहादुर गुरुङ, कोलबर्न टाउन काउन्सिलरमा कन्जरभेटिभबाट डा. जगन्नाथ शर्मा र पूर्वगोरखा कमलबहादुर गुरुङ बारनेट बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलरमा निर्वाचित हुनुभएको छ। यसै गरी नेपाली समुदायको बाक्लो बस्ती रहेको रसमुर बरो काउन्सिलको बेलिङ्टनबाट जीव बेल्वासे, वेलिङ्टनबाट धनबहादुर सार्की र सोही बरोको फानबोरो चेरिउडबाट नेम थापा कन्जरभेटिभ पार्टीबाट काउन्सिलरमा निर्वाचित हुनुभएको छ। 

मेडिस्टोन बरो काउन्सिलमा लिबरल डेमोक्रेटिकबाट दिनेश खड्का, स्यान्डर्स टाउन काउन्सिलमा कन्जरभेटिभबाट प्रीति लिम्बू, डाकोराम बरोमा कन्जरभेटिभबाट गोवर्धन सिलवाल र इन्सवर्थ पेरिस काउन्सिलमा कन्जरभेटिभबाट रोजिना प्रधान राई निर्वाचित हुनुभएको छ।