• २७ वैशाख २०८१, बिहिबार

असल आमाहरू सम्मानित

blog

असल आमालाई पुरस्कृत गर्दै नगर प्रमुख लोमन शर्मा । तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, असार १४ गते । नारायण नगरपालिकाले असल आमालाई पुरस्कृत गरेको छ । २० वर्ष उमेर पुगेपछि विवाह गरेका र दुई सन्तान जन्माएका, स्वास्थ्य संस्थामा सुत्केरी भएका र पोर्टकलअनुसार गर्भजाँच गराएका ४२ जना असल आमालाई बुधवार नगद दुई हजार रुपियाँ र प्रमाणपत्रले सम्मानित गरेको हो ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक लालबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीको सिफारिसमा पाँच वटा मापदण्ड पुगेका असल आमालाई पुरस्कृत गरिएको जानकारी दिनुभयो ।

उहाँले केही वडाका असल आमाहरूलाई पुरस्कृत गरिएको र केही वडाका बाँकी रहेको बताउनुभयो । नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले गुणस्तरीय स्वास्थ्य सेवा लिन, बच्चालाई पोषणयुक्त खाद्यवस्तु खुवाउन, आमा र शिशुको मृत्युदरमा कमी ल्याउन, कुपोषण हुनबाट बचाउन सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम नगरपालिकाले सञ्चालन गरिरहेको जानकारी दिनुभयो । 

असल आमा पुरस्कृत तथा सम्मान कार्यविधिमा उल्लेख गरिएका पाँच वटा मापदण्ड पूरा गर्ने आमाहरूलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गर्भ बसेदेखि बच्चा जन्मेको दुई वर्षभित्र उसले पाउनु पर्ने सबै सेवा सुविधा लिएको आधारमा पुरस्कृत गर्ने गरिएको छ ।”