• २७ वैशाख २०८१, बिहिबार

कर्णालीमा दुई दिने ‘राष्ट्रिय कचहरी’

blog

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको ‘राष्ट्रिय कचहरी’ कार्यक्रम । तस्बिर :रजनी योगी

रजनी योगी

सुर्खेत, असार १४ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ । ‘राष्ट्रिय कचहरी’ कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । 

सो अवसरमा मन्त्री शाहीले मुलुक सङ्घीयतामा गइसकेपछि जनताका माग बढेको बताउनुभयो । सरकारले जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको भन्दै उहाँले नागरिकको आवश्यकता र देशको परिस्थितिअनुसार अघि बढेको जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले सङ्घीयता कार्यान्वयनमा आएको लामो समय भए पनि अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गर्नुभयो । यसका लागि तीन तहका सरकारको कामलाई समीक्षा गर्नुपर्ने बताउनुभयो ।  

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट विनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार नआउने गरेको बताउनुभयो । आवश्यकताका आधारमा बजेट विनियोजन नहुँदा काम गर्न असहज भइरहेको उहाँले जानकारी दिनुभयो । 

तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको उहाँले दाबी गर्नुभयो । सहकार्य नहुँदा स–साना काममा समेत बाधा पुगेको उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको बताउनुभयो । वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार युवा देश बाहिर जाने अवस्थाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा असर परेको टिप्पणी गर्नुभयो ।  

संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन नेपाल तथा भुटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दैगएको असमानता, कोभिड र रुस–युक्रेन युद्धको असर, राजनीतिक सङ्कट र वातावरणीय असरले कर्णालीजस्ता क्षेत्रलाई असर पारेको बताउनुभयो । यस विषयमा बहुपक्षीय सवाल उठान भएको र यसमा खाद्य तथा कृषि सङ्गठनको आवश्यक सहयोग हुने  जानकारी दिनुभयो ।

नगरपालिका सङ्घ नेपालका अध्यक्ष नरुलाल चौधरीले संविधानमा व्यवस्था भएका साझा सूचीअनुरूप काम नभएको बताउनुभयो । सङ्घीय शिक्षा तथा निजामती कर्मचारी ऐन नबनेका कारण पनि समस्या झेल्नुपरेको उहाँको भनाइ छ ।

स्थानीय सरकार सबलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेशनल, वर्ल्डभिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा सुरु भएको राष्ट्रिय कचहरी कार्यक्रम दुई दिनसम्म चल्नेछ ।