• १२ साउन २०८१, शनिबार

नेपाल र मङ्गोलियाबिच सहमति

blog

काठमाडौँ, असार १४ गते  । ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवर्धनमा सहकार्य गर्न नेपाल र मङ्गोलियाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

नेपालमा पस्मिना धागो र ऊनको गुणस्तर परीक्षण र विश्लेषण, यस क्षेत्रमा ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान गर्न नेपाली व्यवसायी र मङ्गोलियाली अधिकारी सहमत भएका छन् । नेपाल पस्मिना उद्योग सङ्घ तथा मङ्गोलियाली सरकारको रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबिच यस विषयमा बुधबार समझदारी भएको हो । 

अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मङ्गोलियाको उलानबाटोरमा जारी वल्र्ड एक्सपोर्ट डेभलपमेन्ट फोरम २०२३ मा नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलको सहभागिताको अवसरमा उक्त समझदारी भएको हो । चारदिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रहरूका व्यावसायिक आवाज, व्यवसायीबिचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तनसहित डिजिटल रूपान्तरणलगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधि, विज्ञबिच विभिन्न छलफलका सत्र सञ्चालन भएका थिए । 

युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पस्मिना व्यवसायीलाई उक्त सम्मेलनमा सहभागिताका लागि सो अवसर उपलब्ध गराएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु मरासिनीले ऊन तथा भुवा उत्पादनमा मङ्गोलियाको अनुभवबाट नेपाली पस्मिना व्यवसायीले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासका लागि यस समझदारी महत्त्वपूर्ण रहेको बताउनुभयो । समझदारीले नेपालमा नेपाली काश्मीरी उत्पादनको गुणस्तरीयता परीक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलकबिच व्यावसायिक सम्बन्ध विस्तार तथा यस क्षेत्रमा नयाँ अनुसन्धानका लागि ढोका खोलिएको उहाँको भनाइ छ । पस्मिना उद्योग सङ्घका अध्यक्ष दुगरले काश्मीरी तथा ऊनजन्य वस्तु उत्पादन तथा निर्यातमा विश्वमा अग्रणी मङ्गोलियाको लामो अनुभव तथा विज्ञतालाई उपयोग गर्ने अवसर यस समझदारीले दिएको बताउनुभयो । 

पस्मिना तथा ऊनको क्षेत्रमा दुवै देशका निजी क्षेत्रबिच आपसी सहयोगलाई अझ सशक्त बनाउने तथा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूले भोगिरहेका साझा समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा उठ्ने आवाजमा दुवै मुलुकले ऐक्यबद्धता जनाउनेबारे उक्त अवसरमा छलफल भएको थियो ।