साधन घर्ती
म्याग्दी (दरबाङ),असार १२ गते । हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर(बेनी-जोमसोम-कोरोला) सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका -२ ,भुरुङतातोपानीस्थित भुरुङ खोलामा बेलिव्रिज निर्माण गरिएको छ । जेठ ६ गते खोलामा आएको बाढीले तीन मिटर लामो कल्भर्ट पुल बगाएपछि आकस्मिक रूपमा ३० मिटर लामो बेली ब्रिज निर्माण गरिएको हो ।
खोलामा आएको बाढीले कल्भर्ट पुल बगाएपछि बेली ब्रिज निर्माण गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाका योजना प्रमुख जगत् प्रजापतिले बताउनुभयो । उहाँका अनुसार एक हप्ताको समयमा ३० लाख रुपियाँ बजेटबाट सो बेली ब्रिज निर्माण गरिएको हो ।
सवारीसाधन आवतजावतको लागि पुल तयार हुन अझै तीन-चार दिन समय लाग्ने प्रमुख प्रजापतिले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएपछि मुस्ताङ आवतजावत नै पर्यटक र स्थानीयवासीलाई सिधा यातायात सेवामा सहज हुनेछ ।
कल्भर्ट पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोलामा सवारी वारपार गर्ने संरचना बनाइएको थियो । पुनः गत जेठ ३० गते राति बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको थियो ।