• ६ जेठ २०८१, आइतबार

प्युठानको बजेट

कोदोको रक्सी ब्रान्डिङ देखि कोरेली पाडीसम्म वितरण गर्ने योजना

blog

सलिम मियाँ

विजुवार, असार ११ गते । प्युठानको नौ वटै स्थानीय तहले वार्षिक नीति कार्यक्रम तथा बजेट पेस गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा खर्च गर्ने गरी बजेट  ल्याएका हुन्। धेरैजसो स्थानीय तहको बजेट कृषि,शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित छ।

प्युठानको सरुमारानी गाउँपालिकाले  ४३ करोड ९३ लाख ५२ हजार ३ सय ७ रुपियाँको बजेट प्रस्तुत गरेको छ ।दोस्रो गाउँ सभाको १३ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा बजेट सार्वजनिक गर्नुभयो।

पालिकाले सरूमारानी कृषि तथा पशुपक्षी विकास श्रोत केन्द्र स्थापना गर्ने, ६ वटै वडाहरूमा कोरेली पाडी वितरण गर्ने योजना ल्याएको छ। त्यसै गरी,शैक्षिक गुणस्तरका लागि विद्यालयमा अभिभावक सचेतना कार्यक्रम सञ्चालन गर्ने,पालिका भित्रका अनाथ तथा टुहुरा बालबालिकालाई आवासीय शैक्षिक कार्यक्रमको व्यवस्था गर्ने योजना छ।

नौ बहिनी गाउँपालिकाले ‘किसानको उत्पादन गाउँ सरकारको अनुदान’ भन्ने कार्यक्रम बनाएको छ । कार्यक्रमअनुसार २ सय केजी भन्दा बढी खसी बोकाको मासु उत्पादन गर्ने किसानलाई प्रति केजी ८० रुपैयाँकारले अनुदान दिने भएको छ । एक वडा एक कृषि पकेट क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरिएको छ। पालिकालाई दूधमा आत्मनिर्भर गराउँदै निर्यात गर्ने उद्देश्य सहित किसानले सुत्केरी भैँसीको बिमा गरेमा प्रतिभैँसी पाँच हजारका दरले बिमा गरेबापत रकम उपलब्ध गराउने गरी बजेट ल्याएको गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो । नौ बहिनीले किसानलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्न ५० प्रतिशत अनुदानमा अलैँची र किवीको बिरुवा प्रदान गर्न कालागि बजेटको व्यवस्था गरेको छ ।  नौबहिनिले आगामी आर्थिक वर्षका लागि ६५ करोड ८२ लाख ८६ हजार ३ सय २६ रुपैयाँको बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै प्युठान नगरपालिकाले आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान सहित ७८ करोड २० लाख बराबरको बजेट सभामा पेस गरेको छ ।  नगरपालिकाले कृषिलाई नै मुख्य प्राथमिकतामा राखेको छ ।उत्पादनसँगै कृषि बजार, समुन्नत नगरको आधार भन्ने नारालाई अगाडी सारेर नगरपालिकाभित्रका किसानहरूलाई सूचीकरण गरी किसान परिचय पत्र वितरण, कृषि उपज सङ्कलन तथा बजारीकरण, कृषिमा आधारित बैङ्क अनुदान, सहुलियत ऋण लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मल्लरानी गाउँपालिकाले बाह्रै महिना चल्ने गरी पूर्वाधार क्षेत्रतर्फ ‘एउटा वडा, एउटा बाटो’ लाई बढी प्राथमिकता दिएको छ । कृषि क्षेत्रलाई पनि पालिकाले ध्यानमा राखी कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूको रेकर्ड गरी कृषकहरूलाई अनुदान दिने भएको छ । पालिकाले यस आर्थिक वर्ष २०८०-०८१ का लागि ३९ करोड ५४ लाख ४१ हजार ८ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश के.सिले जानकारी दिनुभयो ।

गौमुखी गाउँपालिकाले पनि यस आर्थिक वर्ष २०८०-०८१ को लागि ४६ करोड ८० लाख रुपैयाँ पेस गरेको छ । पालिकाले निश्चित बर्गल्याई घरघरमै स्वास्थ्य सेवा दिने गरी ल्याब इन ब्याग कार्यक्रम लिएको छ । यस्तै,कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने पालिकाले नीति बनाएको छ। त्यसै गरी गौमुखी लाई आलु र तरकारी बालीको बिउ उत्पादनको केन्द्र बनाउने कार्यक्रम सञ्चालन गरिने योजना छ । जनताको घरमा डाक्टर तथा   ल्याब इन ब्याग कार्यक्रम सञ्चालन गरिने उपाध्यक्ष रानाले बताउनुभयो । प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्नेहरूलाई ५०% अनुदानको व्यवस्था गर्ने नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छ । कृषिमा रैथाने बालीहरूलाई सम्र्वद्धन गरी बजारीकरण गर्ने भएको हो ।

कृषि पर्यटन रोजगारी बढाउने गति, शान्त समुन्नत सुन्दर बनाऊ ऐरावती’ भन्ने मुख्य नारालाई लिँदै ऐरावती गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०-०८१ को लागि ४९ करोड ४५ लाख रुपैयाँ बजेट पेस गरेको छ ।

स्वर्गद्वारी नगरपालिकाले ७२ करोड ४६ लाख बजेट विनियोजन गरेको हो । नगरपालिकाले युवा तथा स्वरोजगार,स्वास्थ्य,शिक्षा,कृषि तथा पशुलाई जोड दिएको छ। ‘स्वर्गद्वारी नगरपालिकाको स्वरोजगार,स्वर्गद्वारी बलियो आधार’ भन्ने नारालाई अघि सारेको हो ।

माण्डवी गाउँपालिकाले ४० करोड ७ लाख ४४ हजार ३ सय १२ रुपैयाँ बजेट विनियोजन भयो । गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकीले गाउँ सभाको १४ औँ अधिवेशनको दोस्रो बैठकमा उक्त बजेट पेस गरेका हुन् ।

त्यस्तै झिमरुक गाउँपालिकाले  ५० करोड २ लाख २२ हजार १ सय ५० पेस गरेको छ । पालिकाले आउँदो वर्ष देखी गौमुखी क्याम्पस मच्छिमा पढ्ने सबै विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क सबै पालिकाले तिरिदिने गरी कार्यक्रम ल्याएको छ ।