• २६ वैशाख २०८१, बुधबार

कुलो पुनर्निर्माणले सिँचाइमा सहज

blog

गएको असोज महिना बाडीले बगाएपछि पुनः समुदायको सक्रियतामा निर्माण भएको चुम्लाह सिचाइ कुलो । तस्बिर: हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी 

मुगु, असार १० गते । चुम्लाह सिँचाइ कुलो पुनर्निर्माण भएसँगै सिँचाइमा सहज भएको छ । गत वर्ष असोजमा आएको अविरल वर्षाले पूर्ण रूपमा बगाएको सिँचाइ कुलो स्थानीयवासीको  सक्रियतामा पुनर्निर्माण भएपछि सिँचाइ सहज हुने भएको हो । 

जिल्लाको पूर्वी भेगमा पर्ने खत्याड गाउँपालिकाको वडा नं. ३ र ४ मा पर्ने बारुत, श्री कोट, माथीखर्क र तली खर्क गाउँका एक सय ३२ वटा घरधुरी यस सिँचाइ कुलोबाट लाभान्वित छन् । यहाँका कृषकले यही कुलोको भरमा व्यावसायिक तरकारी खेती र खाद्यान्न उत्पादन गर्दै आएका छन् । तर गत वर्ष असोज महिनाको तेस्रो सातमा परेको अविरल वर्षातले उक्त  सिँचाइ कुलो बगाएपछि खेतमा सिँचाइ नभएर खेत  बाँझै रहेको थियो । स्थानीय खड्क बहादुर टमाटाले अब बाझिएको खेलमा फेरि खनजोत हुने आशाले आफूहरू खुसी भएको बताउनुभयो ।

चुम्लाहदेखि तली खर्क सिँचाइ कुलो तथा तटबन्ध समितिका अध्यक्ष मदन बुढाले बाढीले खोला गहिरो गरी काटेको हुँदा उक्त सिँचाइ कुलोको मर्मत समुदायको एक्लो प्रयासमा सम्भव नभएपछि दाताको सहयोग लिएको बताउनुभयो । उक्त सिँचाइ कुलो  निर्माणका लागि पेस नेपाल नामक संस्थाको एक लाख २५ हजार रुपियाँ र खत्याड गाउँ पालिकाको  २५ वटा ग्याविन जाली र पेस नेपाल दाताको २५ ग्याविन जाली र समुदायको श्रमदानबाट ९९ मिटर आरसिसी गरी कुलो चल्ने अवस्थामा पुर्‍याइएको उहाँको भनाइ छ ।

चुम्लाह सिँचाइ कुलो निर्माणमा आए लगत्तै यहाँका स्थानीय कृषकले ६० प्रतिशत धान रोपाइँ सकेका छन् । समितिका अध्यक्ष बुढाले  खत्याडका बस्तीमा बाडीले  बगाएको सिँचाइ कुलो पेस नेपाल र समुदायको जनसहभागितामा पहिलो पटक जुटेर बनाएको सिँचाइ कुलो भएकाले उक्त सिँचाइ कुलोको  अनुगमन र मूल्याङ्कनका लागि पालिकाका अध्यक्ष, कर्मचारी र सम्बन्धित वडाको संयुक्त  अनुगमन र मूल्याङ्कनले   आउँदो आर्थिक वर्षमा सम्बोधन हुने गरी आगामी आर्थिक वर्षका लागि मर्मत सम्भारका लागि पालिकाले १० लाख बजेट छुटाउने प्रतिबद्धता जनाएको बताउनुभयो ।