• ८ मंसिर २०८१, शनिबार

सौभाग्यको प्रतीक

blog

हिन्दु संस्कृति अनुसार महिलाले लगाउने पोते सौभाग्यको प्रतीक मानिन्छ । विवाह भएपछि मात्रै पोते लगाउने चलन छ । त्यसैले विवाहमा लगनगाँठो कसिँदा ‘लगनको पोते’ दुलहाले दुलहीलाई पहि-याइदिने चलन छ । श्रीमान्ले लगाइदिएको अनेकौँ आभूषणभन्दा यो पोतेको मान, मर्यादा र सम्मान अपरम्पार छ । लाखौँको मूल्यवान् गरगहनाभन्दा पोतेको अस्तित्व तथा अस्मिता गहन, ओजस्वी र मूल्यवान् मानिन्छ ।

नेपाल बहुभाषी, बहुजाति, बहुसंस्कृति भएको मुलुक हो । आआफ्नो रुचि अनुसारको वेशभूषा पहिरिन्छन् तर पोते यस्तो आभूषण हो, जो सबै जातजातिको रोजाइमा पर्छ । ब्राह्मण–क्षेत्रीले रातो लगाउँछन् भने मगर–तामाङले पहेँलो, गुरुङ–राईहरूले हरियो, नेवार समुदायले कलेजी, रातो, त्यस्तै मुस्लिम जातिले पनि मालाका रूपमा पोते पहिरिने गर्छन् । जे होस्, आआफ्नो रुचि र बजारमा पाएसम्म हरियो, रातो, पहेँलो, सुन्तला, कालो आदि पोते लगाउँछन् । लगनको पोते चाहिँ श्रीमान् जीवित छउञ्जेल जतन गरेर राख्ने चलन छ ।

सिन्दूर, टीका र पोतेलाई सनातन परम्परा अनुसार सौभाग्यको प्रतीक मानिन्छ । त्यसैले सत्यनारायण भगवान्को पूजा गर्दा, मङ्गलचौथीको व्रतमा, लक्ष्मी पूजाका दिनमा र तिजको पूजामा यी सामग्री भगवान्लाई अर्पण गर्ने चलन छ । अहिलेका नयाँ पुस्ताले पनि आफ्नो परम्परा, संस्कार र संस्कृतिलाई अहोभाग्यका रूपमा वरण गर्ने गरेका छन् । 

राजा रत्न मल्लका पालामा मुसलमानहरूसँगै पोते पनि नेपाल भित्रिएको भन्ने भनाइ छ । कसैले प्रताप मल्लका पालामा त कसैले पृथ्वीनारायण शाहका पालामा पोते र यसका व्यवसायी मुसलमानहरूलाई नेपालमा पोते कारोबारका लागि प्रोत्साहन गरेको पनि भनिन्छ । अहिले पनि काठमाडौँका कतिपय मुसलमानलाई ‘नेवा मुस्लिम’ भनेर भन्ने गरिन्छ । पछिल्लो पुस्ता अघिल्लोभन्दा पोतेमा धेरै रत्तिएको पाउन सक्छौँ । अहिले जस्तो थरीथरीका पोते पहिला पाइँदैनथ्यो । अहिले त बहुरङमा विभिन्न थरिका पोते पाइन्छन् र ती पोते जापान, चेकोस्लोभाकिया, चाइना आदि देशबाट ल्याइन्छ । 

दाना (खाजा/धुलो) मा आयात भएको पोतेलाई सुधारगृहमा रहेका कैदीहरूले अथवा सस्तो ज्यालामा उन्न सक्ने दक्षता भएकाहरूले सानो सियोका मद्दतले धागोमा उन्ने काम गरिन्छ । पोते दुई किसिमले उन्न सकिन्छ । सियोका मद्दतले र धागोबाट धोगोमा सारेर । सियोले उन्नुपर्ने पोतेहरू खुला दानालाई थाल या कुनै भाँडामा राखेर सियोका मद्दतले धागोमा छिराउने काम गरिन्छ । के कस्तो आकार प्रकारको तयार गर्नुपर्ने हो, सानो सियोको माध्यमबाट भने जस्ता डिजाइनहरू तयार पार्न सकिन्छ । 

धागोबाट धागोमा सार्ने पोतेलाई सुरुमा नरम कच्ची धागोमा उनिएको हुन्छ । अनि त्यही पोतेलाई बलियो पक्की धागोमा सार्न एकातर्फको धागोमा अर्कातर्फको धागो जोल्ठ्याएर तीव्र गतिमा पोते सारिन्छ । उनिएको पोतो पौन्ड (४५० ग्राम) का हिसाबले बिक्री वितरण गरिन्छ । काठमाडौँको इन्द्रचोक, असन, ठमेल, पशुपतिनाथ मन्दिर परिसर, महाबौद्ध र धरानको पुरानो बजारमा यसको थोक कारोबार केन्द्र रहेका छन् । युवामा फेसनको बढ्दो प्रभावसँगै यसका पारखी पनि वनका च्याउ झैँ फैलिएका छन् । पहिले पहिले वर्षमा एक/दुई झुत्ता पोते किनेर लगाउँथे भने अहिले पोतेको फेसनमा बाढी नै आएको छ । उहिले पोते लगाउनैपर्ने चलन थियो भने अहिले ऐच्छिकमा परिणत भएको छ । पोते नौगेडी, जन्तर, मङ्गलसूत्र, अस्टसूत्र, तिलहरी आदिमा राखेर पनि लगाइन्छ । तिलहरीमा पनि जेठी, माइली, साइली, कान्छी भनेर वर्गीकरण गरिएको पाइन्छ । सुनपसलेले जति थरी गहना बनउँछ, त्यति नै पोतेका पारखीहरू बढ्दै जान्छन् । सुनको मूल्य अकासिँदा पोतेको कारोबारमा मन्दी आउँछ भने सुन सस्तो हुँदा पोते बढी बिक्ने गर्छ । 

विवाह, भोजभतेर तथा विभिन्न कार्यक्रममा वेशभूषा अनुसारको पोते लगाउने चलनले पछिल्लो अवस्थामा पोतेको बजार जुरुक्कै उठेको छ । साठीको दशकसम्म पनि किसिम किसिमका पोते त्यति थिएनन्, जति आज छ । आज रुचि अनुसारको पोतेका डिजाइन बनाउन लगाइन्छ र यी पोते लगाउने चलन छ । पहिले पोते तीन किसिमका थिए – पाल्किदार, आँठे पोते र मुगा पोते तर अहिले होटलमा खानाको भेराइटी जस्तै पोतेको पनि सयौँ भेराइटी तयार भएका छन् । सिफ्फन पोते, ट्रेङ्गल पोते, डाइमन्ड कट पोते, हाइड्रो पोते, क्रिस्टल पोते, मिक्स पोते आदि छन् । 

सामान्यतया पोखरा बजारमा एउटा नौगेडी उनेको ज्याला आठ सयदेखि १५ सय रुपियाँसम्म लिन्छन् । सिपालु व्यक्तिले तीन/चार घण्टामा नौगेडीमा पोते उन्न सक्छ । तिलहरी उन्न एकदेखि आधा घण्टा लाग्छ । त्यसको ज्याला काम हेरेर दुई÷तीन सय रुपियाँ लिने गरेका छन् । पोतेको घनत्व अनुसार ज्याला घटबड हुन्छ । 

पोखरा बुद्ध विशाल बजारकी पोते व्यवसायी कमला भट्टराई पहारी एउटा मोटो नौगेडी उनेको पारिश्रमिक १५ सय रुपियाँसम्म लिएको बताउनुहुन्छ । उहाँले व्यवसाय सुरु गर्दा अरू कुनै ब्राह्मण परिवारले त्यस्तो पेसा गरेका थिएनन् । त्यसैले उहाँले आफ्नै परिवार, माइती, मावली, छरछिमेकबाट हेपाइ सहनु प¥यो । उहाँले यो व्यवसाय सुरु गर्दा मुसलमानले मात्रै यो काम गर्नु पर्छ भन्ने मान्यता थियो । साठी हजार रुपियाँबाट सुरु भएको उहाँको पोते व्यवसाय अहिले राम्रै चलेको छ । तीन जनाले रोजगारी पनि पाएका छन् ।

 


Author

शेषराज भट्टराई