• २७ वैशाख २०८२, शनिबार

सडक जोड्ने कार्य प्राथमिकतामा

blog

काठमाडौँ, असार ६ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपतबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, पुनस्र्थापना र विच्छेद भएको सडकलाई जोड्ने कार्य प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताउनुभएको छ । उहाँले तीनै तहको सरकारको समन्वयमा विपत् प्रभावित क्षेत्रमा काम अगाडि बढेको बताउनुभयो । 

पूर्वी पहाडी जिल्लामा विपतले पारेको प्रभावबारे प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठले खोज, उद्धार तथा राहतको काम भौगोलिक प्रतिकूलताको विद्यमान सीमाभित्र रहेर अधिकतम रूपमा भइरहेको जानकारी गराउनुभयो । 

असार २ गते राति परेको अबिरल वर्षाले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा गरी पूर्वी नेपालका तीन जिल्लामा अत्यधिक क्षति भएको छ । मन्त्री श्रेष्ठले मनसुनपूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८० अनुसार सबै सङ्घीय निकाय र सरोकारवाला निकायको भूमिका निर्धारण गरी समन्वयात्मक परिचालनको व्यवस्था गरेबमोजिम विपत् प्रभावित क्षेत्रमा कार्य भइरहेको बताउनुभयो । गृह मन्त्रालय मातहातको कार्यकारी समितिको गत जेठ १९ गतेको बैठकले उक्त कार्ययोजना पारित गरेको थियो । 

सदनलाई विपत् प्रभावित क्षेत्रलाई लक्षित गरी सरकारले गरेको कामबारे जानकारी गराउँदै भन्नुभयो, “विपत् पीडित राहत तथा उद्धार मापदण्ड २०७७ बमोजिम परिवारमा एक जनाको मृत्यु भए दुई लाख र थप मृत्यु भएको अवस्थामा प्रति व्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। सोहीबमोजिम राहत र क्षतिपूर्तिको व्यवस्था गरिँदै छ।”

उहाँले घरबास क्षति भएकालाई तत्काल गुजाराका लागि प्रतिपरिवार १५ देखि २० हजार उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिनुभयो। गृहमन्त्री श्रेष्ठले विपत्का घटनामा १० जनाको मृत्यु, छ जना घाइते र २६ जना बेपत्ता भएको जानकारी गराउनुभयो। उहाँले ५४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको बताउनुभयो। 

प्रतिनिधि सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले विपत्का घटनाबाट प्रभावित भएकाहरूको खोज, राहत र उद्धारका कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय, सङ्घीय निकाय, सडक विभाग, प्रदेश र स्थानीय तहसँगको समन्वयमा परिचालन गरिएको बताउनुभयो। उहाँले बाढी र पहिरो प्रभावित क्षेत्रमा फसेकाको हेलिकोप्टरबाट उद्धार गरिएको तथा घाइते भएकालाई हेलिकोप्टरबाट उपचारका लागि विराटनगर पठाइएको बताउनुभयो। 

विपत्बाट सङ्खुवासभाको चैनपुर भएर बग्ने हेवा र पिलुवा खोला छेउछाउमा क्षति भएको छ। सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरका विभिन्न खोलामा आएको बाढीले पुल क्षतिग्रस्त भएका छन्। गृहमन्त्री श्रेष्ठले जिल्ला सुरक्षा समिति, विपत् व्यवस्थापन समिति, स्थानीय विपत् व्यवस्थापन समिति, स्थानीय तहका प्रतिनिधि र नागरिक स्तरबाट खोज तथा उद्धार कार्य भइरहेको बताउनुभयो। 

उहाँले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रक्रिया  अगाडि बढाइएको छ। मुख्य राजमार्ग सुचारु गर्न अवरुद्ध रहेका स्थानमा बेलिब्रिज राख्न आकलन गर्ने तथा सहायक राजमार्ग अवरुद्ध भएको खण्डमा सडक डिभिजनको प्राविधिक र सुरक्षाकर्मीसँगको समन्वयमा केही घण्टाभित्रै सडक सुचारु गर्ने गरी काम अगाडि बढाइएको सदनलाई उहाँले जानकारी गराउनुभयो। 

 बेलिब्रिज निर्माण सुरु  

अविरल वर्षापछि आएको बाढीले क्षति पु-याएका भौतिक संरचनाको पुनर्निर्माण सुरु भएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण थालेको बताउनुभयो ।

बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल आइतबार बगाएको थियो । सोमबारदेखि नै पुनर्निर्माण थालिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुखलगायत मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । आयोजना प्रमुख विदुर पोखरेलले भन्नुभयो, “बेलिब्रिज निर्माणका सामग्री निर्माण स्थलमा पुगिसकेका छन्, केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौँ ।”