सचिन पोखरेल/ध्यान कुलुङ
काठमाडौँ/इटहरी/सङ्खुवासभा, असार ५ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ। सोमबार अपराह्नसम्म २९ जना अझै बेपत्ता रहेको प्रहरी तथा नेपाली सेनाको स्रोतले जनाएको छ। मृत्यु हुनेमा सङ्खुवासभामा दुई, ताप्लेजुङ र पाँचथरमा तीन/तीन तथा नुवाकोट र तनहुँमा एक/एक जना रहेका छन्।
बाढीपहिरोमा परेर सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई, पाँचथरमा एक र तनहुँमा दुई जना गरी आठ जना घाइते भएका छन्। घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। बाढीपहिरोमा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँच जना गरी २९ जना बेपत्ता भएका छन्।
बाढीपहिरोका कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, पाँच वटा उद्योग र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ६७ वटा चौपायाको मृत्यु भएको छ। विपत् ९७ घरपरिवार विस्थापित भएका छन्।
यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सङ्घीय सांसद योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, दीपक खड्का र कोशी प्रदेश सभा सदस्य राजेन्द्र कार्की र प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले कोशी प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले उद्धार र राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ।
सङ्खुवासभा समाचारदाताका अनुसार बाढी प्रभावित क्षेत्रको हवाई अनुगमनपछि तुम्लिङटार विमान स्थलमा प्रधानमन्त्री प्रचण्डलाई घटनाबारे प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी गराउनुभएको थियो। कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्खुवासभालगायत पूर्वी पहाडी जिल्लामा गएको बाढीपहिरोले देशलाई नै अपूरणीय क्षति पुगेको प्रतिक्रिया दिनुभयो। बाढीपहिरोले विस्थापित बनाएकाहरूको खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारले कुनै कसर बाँकी नराख्नेसमेत उहाँले बताउनुभयो।
बेपत्ताको खोजी तथा विस्थापितको पुनस्र्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको समेत प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। प्राकृतिक विपत्तिमा परेका तथा विस्थापितका लागि सरकारले चाँडै राहत प्याकेज लिएर आउनेसमेत उहाँले बताउनुभयो। बाढीपहिरोले थुप्रै ठाउँका पुल बगाएकाले यातायात सम्पर्क पुनः सञ्चालन गर्न तत्काल बेलीब्रिज निर्माण गरिनेसमेत उहाँले जानकारी दिनुभयो।
विराटनगर समाचारदाताका अनुसार बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो। मौसम प्रतिकूल भएपछि विराटनगर विमानस्थलमा अवतरण गराइएको हो।
ठुलो मानवीय तथा भौतिक क्षति पुगेको पूर्वी पहाडी जिल्लामा सोमबार अपराह्नसम्म खोज,उद्धार तथा विस्थापित परिवारको व्यवस्थापन कार्य भइरहेको छ। नेपाली सेनाको खोज तथा उद्धार टोलीले बाढी तथा पहिरोग्रस्त विकट क्षेत्रमा फसेका एक दर्जनभन्दा बढी सर्वसाधारणलाई हेलिकोप्टरबाट उद्धार गरेको छ।
नेपाली सेनाको पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी डा. आसबहादुर तामाङका अनुसार पाँचथरको याङ्वरक गाउँपालिका–१ को खोलाघारी क्षेत्रबाट हेलिकोप्टरमार्फत सेनाको उद्धार टोलीले पहिरोमा फसेर तीन दिनदेखि अड्किएका उनीहरूको उद्धार गरेको हो।
त्यस्तै सङ्खुवासभा जिल्लाका विभिन्न स्थानबाट पनि पहिरोमा फसेका तीन जना सर्वसाधारणलाई उद्धार गरिएको मुख्यालयले जनाएको छ। सबै सुरक्षा तथा प्रशासनिक निकायको समन्वयमा सेनाले पृतना मुख्यालय इटहरीमा प्रदेश स्तरीय आपत्कालीन केन्द्र स्थापना गरी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा विस्थापितको व्यवस्थापनको काम गरिरहेको छ।
पृतनापति डा. तामाङका अनुसार, बाढी तथा पहिरो प्रभावित सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लाको हेवा, पिलुवा र सभा खोलामा आएको बाढीका कारण सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको छ।
पूर्वी नेपालका तमोर, अरुण, कोशीलगायतका ठुला नदी तथा अन्य खोला क्षेत्रका तटबन्धमा ठुलो सङ्ख्यामा सेनासहितको सुरक्षाकर्मीको टोली परिचालन गरी खोज, उद्धार र विस्थापितको व्यवस्थापन र सर्वसाधारणको घर र बासस्थान सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज जडान गरेर सडक सुचारु गर्नका लागि सडक विभागसँग समन्वय र प्राविधिक सहयोग गर्न सेनाको कालीशक्ति गण (ई)को प्राविधिक टोलीसमेत परिचालन भइसकेको छ।