• १३ साउन २०८१, आइतबार

महालेखालाई युएसएआइडीको सहयोग

blog

काठमाडौँ, असार २ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का काउन्सेलर क्लिन्टन ह्वाइटले युएसएआइडी महालेखापरीक्षक सहयोग परियोजनाको घोषणा गर्नुभएको छ । महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबिचको यो महत्वपूर्ण साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवर्धन गर्नप्रति लक्षित रहेको जनाइएको छ ।

घोषणाका लागि शुक्रबार आयोजित कार्यक्रममा बोल्दै काउन्सेलर ह्वाइटले भन्नुभयो, “युएसएआइडी महालेखापरीक्षक सहयोग परियोजनाले महालेखापरीक्षकको कार्यालय, नेपाल र युएसएआईडीबिचको सहकार्यमूलक साझेदारीलाई झल्काउँछ ।” जालसाजी पत्ता लगाउने महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउने र सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । 

यस सहकार्यले महालेखापरीक्षकको कार्यालयलाई लेखापरीक्षणको गुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्ने लक्ष्य लिएको छ । काउन्सेलर ह्वाइट नेपालको तीन दिने भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा उहाँले नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी र व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।