• १३ साउन २०८१, आइतबार

पाइपलाइन र भण्डारण गृह बनाइँदै

blog

काठमाडौँ, जेठ ३२ गते । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । 

चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण भए एक महिनाको माग धान्ने गरी इन्धन भण्डारण पुग्ने जानकारी दिनुभयो । निगमको नौ अर्ब लागत चितवनको लोथरमा एक लाख किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने उहाँले जानकारी दिनुभयो । आगामी पाँच वर्षमा निर्माण सकिने यो परियोजना सम्पन्न भएपछि इन्धन भण्डारण क्षमता बढ्ने उहाँको भनाइ छ । 

हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणका चार परियोजना २६ अर्ब रुपियाँ लागतमा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी समझदारी भएको छ । 

आइओसीले तीन वटा परियोजनामा १७ अर्ब खर्च गर्ने छ भने एउटा भण्डारण डिपोमा नेपालले नौ अर्ब रुपियाँ लगानी गर्नुपर्ने छ । आइओसीले भारतको सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइन, चारआलीमा इन्धन भण्डारण डिपो र अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने भएको छ । चितवनको पेट्रोलियम भण्डारण डिपो भने निगमको लगानीमा बन्ने छ । 

निगम प्रवक्ता मनोज ठाकुरले दुई देशबिच पेट्रोलियम पाइपलाइन परियोजना निर्माण गर्ने गरी सम्झौता भएको निगम र आइओसीबिच व्यापार टु व्यापार सम्झौता भएपछि निर्माण कार्य अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । आइओसीको प्राविधिक र आर्थिक सहयोगमा पाइपलाइन परियोजना निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले तीन महिनालाई धान्न सकिने क्षमताको इन्धन भण्डारण गृह निर्माण गर्न लागेको हो । नेपाल आयल निगमसँग हाल इन्धनको भण्डारण क्षमता न्यून रहेकाले बजारमा आपूर्ति व्यवस्था सहज पार्न भण्डारण क्षमता वृद्धि गरिने बजेटमा उल्लेख गरेको छ ।

दुई पाइपलाइन परियोजना 

मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण अन्तर्गत अमलेखगन्ज–लोथर ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुने छ । यस्तै भारतको सिलिगुडीमा रहेको आइओसी डिपोबाट झापाको चारआलीसम्म हुने छ । सो पाइपलाइनको ३५ किलोमिटर क्षेत्रफल भारतमा पर्ने छ भने १५ किलोमिटर नेपालतर्फ पर्ने छ । दुवै पाइपलाइनको निर्माण भारतीय लगानीमा हुने छ । पाइपलाइन निर्माणका लागि आइओसीले प्राविधि र आर्थिक सहयोग गर्ने छ । निगमका कुल परियोजनाको दुई इन्धन भण्डारण डिपो (ग्रिन फिल्ड टर्मिनल) मध्ये एक नेपालले बनाउने छ भने एउटा भारतले नै बनाइदिने छ । 

वातावरणीय दृष्टिले कार्बन उत्सर्जन रोक्ने गरी हरित टर्मिनलयुक्त डिपोमध्ये झापाको चारआलीको पेट्रोलियम डिपो भारतले निर्माण गरिदिने छ । यस डिपोमा डिजेल, पेट्रोल र मटितेल तीन वटै इन्धन भण्डारण गर्ने भर्टिकल ट्याङ्की निर्माण हुने छ । 

यसअघि निगम र आइओसीको संयुक्त लगानीमा पहिलो चरणको रक्सौल–अमखेलगन्ज पेट्रोलियम पाइपलाइन परियोजना २०७५ सालदेखि सम्पन्न भई नियमित रूपमा डिजेल आयात भइरहेको छ । निगमले पोखरा र भैरहवामा इन्धन भण्डारण गृह निर्माणसमेत गरिरहेको छ । 

इन्धन भण्डारण क्षमता बढाउने सरकारको नीतिअनुरूप निगमले आर्थिक वर्ष २०७३/७४ मा रुपन्देही, चितवन, सर्लाही र झापामा दुई अर्ब ६६ लाख ४८ हजार रुपियाँ लागतमा खरिद गरेको ६८ बिघा जग्गा खरिद गरेको थियो । निगमले भण्डारण गृह निर्माण गर्न विभिन्न स्थानमा जग्गा खरिद गरे पनि कुन मोडालिटीमा जाने भनेर सरकारले निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न नसकेको जनाएको छ । पर्याप्त बजेट नभएकाले पनि निर्माण गर्न नसकिएको निगमले जनाएको छ ।