• १३ असोज २०८१, आइतबार

ग्राहकको रकम अपचलन गर्ने बैङ्कका कर्मचारी जेल चलान

blog

सुनसरी समाचारदाता 

इटहरी, जेठ ३१ गते । एभरेस्ट बैङ्कको इटहरीस्थित शाखामा रहेका विभिन्न ग्राहकको खाताबाट डेढ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पक्राउ आरोपितमध्ये बैङ्ककै एक जना कर्मचारी कारागार चलान भएका छन् ।

विराटनगर महानगरपालिका–८ घर भई सोही बैङ्कमा अपरेसन मेनेजर पदमा कार्यरत ३४ वर्षीय नीरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले अपरेसन मेनेजर प्रधानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । एभरेस्ट बैङ्कको इटहरी शाखाबाट विभिन्न ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपियाँ बैङ्कका कर्मचारीको मिलेमतोमा घोटाला भएको आरोपमा अपचलन मुद्दा दायर भएको थियो । यस प्रकरणमा पक्राउ परेका बैङ्कका सात जना कर्मचारी र अन्य दुई जना सहयोगीमध्ये प्रधानलाई पुर्पक्षका क्रममा कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालतमा भएको थुनछेक आदेशका क्रममा दुई जना कर्मचारीलाई जनही सात लाख धरौटी र अन्य पक्राउ परेका छ जनालाई साधारण तारिखमा छोड्न आदेश भएको छ । धनुषाको मिथिला नगरपालिका–११ का ३४ वर्षीय शङ्कर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का २७ वर्षीय अजय खिउजूलाई अदालतले जनही सात लाख रुपियाँ धरौटी राख्न आदेश गरेको जिल्ला प्र्रहरी कार्यालयले जनाएको छ ।

त्यसै गरी साधारण तारिखमा रिहा हुनेमा बैङ्कको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैङ्क इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैङ्कको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल रहेका छन् । यस प्रकरणमा उच्च अदालतमा प्रधानसहित १३ जनाविरुद्ध बैङ्किङ कसुरमा मुद्दा दायर भएको थियो । हाल फरार रहेका चार जनाको हकमा अदालतमा उपस्थित भएको समयमा आदेश गरिने बताइएको छ । मुद्दाको अभियोगपत्रमा उल्लेख भए अनुसार विगत पाँच महिनाको अवधिमा इटहरी शाखाका विभिन्न ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आइपिएस र नक्कली चेकबुक प्रयोग गरेर एक करोड ५० लाख २३ हजार ४३४ रुपियाँ अपचलन भएको थियो ।