• १३ असोज २०८१, आइतबार

धरानमा श्रमदानद्वारा खानेपानी

blog

सचिन पोखरेल

इटहरी, जेठ ३१ गते । खानेपानीको चरम अभाव झेल्दै आएको धरान उपमहानगरपालिकाका बासिन्दाले थोरै भए पनि राहत पाउने भएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले अगाडि सार्नुभएको श्रमदान अभियानको सफलतासँगै धरानमा ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट पानी ल्याइएको छ।

खानेपानीको चरम अभाव भोगिरहेको अवस्थामा प्रमुख साम्पाङले प्रारम्भ गरेको श्रमदान अभियानको ९८ औँ  दिनमा कोकाहा खोलाबाट पानी ल्याएर धरान–२० स्थित पकुवा खोलामा खसालिएको छ। त्यसरी पानी झर्दा प्रमुख साम्पाङ भावुक हुनुभएको थियो। 

मङ्गलबार बिहान अर्थात् गएको मध्यराति कोकाहाको पानी पकुवा खोलामा ‘वास आउट’ गर्न खसालिएको अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बूले जानकारी दिनुभयो। 

कोकाहा खोलाको मुहान क्षेत्रबाट प्रमुख साम्पाङको नेतृत्वको श्रमदान अभियानको टोलीले पाइपलाइन बिछ्याएर पानी ल्याएको हो। कोकाहाबाट धरानसम्म पाइपलाइन ल्याउने क्रममा छिमेकी नगरपालिका बराहक्षेत्रसँग समन्वय गरेर त्यस नगर क्षेत्रको भूभागसमेत हुँदै करिब ४२ किलोमिटर पाइपलाइन बिछ्याइएको छ। 

कोकाहाबाट ल्याएर पानी खसाइएको पकुवा खोलासम्मको कठिन पहाडी क्षेत्र कटेर धरानको मानव बस्तीका लागि खानेपानी ल्याइएको धरान खानेपानी व्यवस्थापन बोर्डका प्राविधिक सुशन थापाले बताउनुभयो। पकुवा खोलामा ल्याइएको पानी ‘वास आउट’ गरेर त्यहाँदेखि करिब सात किलोमिटर दूरीमा रहेको सुम्निमा र स्वास्तिका ट्याङ्कीमा ल्याइने योजना रहेको उहाँको भनाइ छ। यसका लागि श्रमदान अभियान अन्तर्गत नै पकुवादेखि सुम्निमा र स्वास्तिका ट्याङ्कीसम्म पाइपलाइन विस्तारको कामसमेत भइसकेको छ। 

कोकाहाको पानी पकुवा खोलासम्म ल्याउने अभियानको अन्तिम चरणमा निरन्तर फिल्डमै खटिनुभएका प्रमुख साम्पाङले ४२ किलोमिटरसम्म पहाडी भिर, पाखा क्षेत्रमा पाइप बोकेर पाइपलाइन विस्तार गरी पानी ल्याउने अभियानमा साथ सहयोग दिने सबैप्रति आभार व्यक्त गर्नुभयो। 

प्रमुख साम्पाङको नेतृत्वमा रहेको कोकाहा खानेपानी श्रमदान अभियानका लागि देश–विदेशबाट चार करोड रुपियाँभन्दा बढी आर्थिक तथा पाइप, खाद्यान्नलगायत सहयोग जुटेको थियो। अभियान अन्तर्गत प्रत्येक शनिबार हजारौँको सङ्ख्यामा सर्वसाधारणले श्रमदानमा सहभागिता जनाएका थिए।