• २८ मङ्सिर २०८२, आइतबार

गौर हत्याकाण्डसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, जेठ ३० गते । गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । आज सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।

गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै पीडित परिवारका तर्फबाट त्रिभुवन साहले सर्वोच्चमा मुद्दा दर्ता गराउनुभएको थियो ।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितकातर्फबाट साहले जेठ २१ गते सर्वोच्चमा मुद्दा दर्ता गराउनुभएको थियो ।

उक्त मुद्दाको पेसी जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलास, जेठ २५ गते न्यायाधीश प्रकाशमानसिंह राउत, जेठ २६ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याउने’मा परेको थियो । त्यस्तै, जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेन्च बस्न नभ्याएका कारण स्थगित भएको थियो ।