• १३ असोज २०८१, आइतबार

पूर्णखोप सुनिश्चिता पालिका घोषित

blog

पूर्णखोप सुनिश्चितता पालिका घोषणा कार्यक्रम सफल बनाउन भूमिका खेल्नेलाई सम्मान गरिँदै । तस्बिर :

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३० गते ।
 ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषित गरिएको छ । खोप कार्यक्रमअन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषित गरिएको हो ।

गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणासँगै यसलाई पूर्ण कार्यान्वयनका लागि खोप सुनिश्चिता, दिगोपना र सपाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नेसहितका नौ बुँदे प्रतिविद्धतासमेत व्यक्त गरिएको छ । गाउँपालिकाद्वारा जारी प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्न जनप्रतिनिधिसहित सरोकारवालाले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिबद्धता पत्रमा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू, उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङ, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईसहित सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य र अन्य सरोकारवालाले हस्ताक्षर गर्नुभएको छ । प्रत्येक वर्ष माघ, फागुन र चैत महिनाभित्र स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नतामा घरधुरी सर्वेक्षण गरी १६ देखि २३ महिनाभित्रका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता कायम गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

यस्तै, खोपको पहुँच बढाई खोप लगाउन छुटेका बालबच्चाहरूलाई पूर्णखोप सुनिश्चित गर्न हरेक वर्षको वैशाख महिनालाई ‘खोज र खोप’ अभियानमार्फत नियमित खोप सेवा प्रदान गरिने छ । सरसफाइ प्रवर्द्धन कार्यक्रमको निरन्तरताका लागि चाहिने सामग्री स्थानीय तहबाट उपलब्ध गराई खोप सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त भएको छ ।

यसैगरी, नियमित खोप कार्यक्रमको सुदृढीकरणसँगै सपाइ प्रवर्द्धन कार्यक्रम तथा पूर्णखोप सुनिश्चितता दिगोपनाका लागि हरेक वर्ष गाउँपालिका, वडा पालिकाले अनुगमन गरी असार महिनाभित्र अनुगमन गरी प्रमाणीकरण गरिने छ । प्रतिबद्धतामा वडा पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता कायम गर्ने, खोपको गुणस्तरीयता कायम गर्न खोप भण्डारणका लागि चाहिने रेफ्रिजेनेटर र फ्रिजर नभएका क्षेत्रमा माथिल्लो निकायसँग समन्वय गरी आवश्यक उपकरणको प्रबन्ध गर्दै लैजाने उल्लेख गरिएको छ ।

नियमित खोप कार्यक्रमको तथ्याङ्कलाई कम्तीमा चौमासिक रूपमा पुनरावलोकन र अद्यावधिक गर्दै लैजाने पनि प्रतिबद्धता जनाइएको छ । त्यस्तै, नियमित खोप कार्यक्रमको सुदृढीकरण, सरसफाइ प्रवर्द्धन र पूर्णखोप दिगोपनाका लागि स्थानीय सञ्चारमाध्यमबाट उल्लेखित कार्यक्रमसँग सम्बन्धित सूचना र सन्देशलाई नियमित रूपमा प्रकाशन र प्रसारण गर्ने प्रतिबद्धतासमेत गाउँपालिकाले जनाएको छ ।