• १३ साउन २०८१, आइतबार

गर्मीमा गन्तव्य पहाड

blog

कविराज घिमिरे 

हिले, जेठ ३० गते । कोरोना सङक्रमण सुरु भएयता पूर्वको प्रमुख पर्यटकीय नगरी भेडेटारमा निकै कम मात्र पर्यटक पुग्ने गरेका थिए । कोरोनाको प्रकोप अन्त्य हुन नपाउँदै सुरु भएको आर्थिक मन्दी भेडेटारमा पर्यटक नपुग्ने अर्को कारण बन्यो । करिब पाँच वर्ष सुनसान बनेको भेडेटारमा केही दिनयता भने निकै चहलपहल छ । भेडेटारमा चहलपहल बढ्नुको एक मात्र कारण हो, तराईमा बढेको गर्मी । 

बर्सेनि भेडेटारमा हुने फुड फेस्टिभल र नयाँ वर्षबाहेकको कुरा गर्ने हो भने पछिल्लो समय दैनिक एक सय पर्यटक पुग्न मुस्किल हुने गरेको थियो । केही दिनयता भने गर्मी छल्न दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भेडेटार पुग्ने गरेका छन् । तराईमा बढेको गर्मी छल्न भेडेटार आउने आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको भेडेटारस्थित अरुण टप होटलका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । “पाँच वर्षसम्म कुनै दिन पर्यटक आएर होटल भरिएको रेकर्ड छैन तर तराईमा यो वर्षको गर्मी सुरु भएपछि भने पाहुनाको चाप छ,” उहाँले भन्नुभयो । 

बढ्दो गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको छ । तराईका लागि गर्मी यति बेला निकै कष्टकर बन्दै गएको छ तर पहाडी क्षेत्रको पर्यटकीय स्थलमा भने चहलपहल बढ्दो छ । 

भेडेटार मात्र नभई पहाडी क्षेत्रको उच्च स्थानमा रहेका बजारसहित पर्यटकीय स्थलमा अहिले बाहिरी जिल्लाबाट आउने व्यक्तिको भिडभाड छ । “तराईमा बसिसक्नु छैन, यता आउँदा आनन्द हुन्छ । त्यसैले साथीभाइ मिलेर गर्मी छल्न आएका हाँै,” मोरङका भूपेन्द्र तुम्बाहाम्फेले भन्नुभयो । 

त्यसो त नेपालबाट मात्र नभई भारतबाट समेत धनकुटा घुम्न आउने क्रम उत्तिकै छ । भारतको बिहार, पश्चिम बङ्गाल, उत्तर प्रदेश, सिक्किम तथा दिल्लीबाट समेत पर्यटक आइरहेका नमस्ते झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बूले बताउनुभयो । अहिले नमस्ते झरनामा समेत दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेको उहाँको दाबी छ । 

नमस्ते झरनाको चिसो पानीमा नुहाउनेको पनि यो बेला कमी छैन । आफ्नो स्थान र यहाँको मौसममा निकै भिन्नता भएकाले केही दिन गर्मी छल्न यतातिर आएको भारत पूर्णियाका अभिषेक कुमारको भनाइ छ ।   

भेडेटार तराईबाट गर्मी छल्न पुगिने सबैभन्दा नजिकको स्थान हो । सुनसरीको धरानबाट १७ किलोमिटर उकालो यात्रापछि भेडेटार पुगिन्छ । अहिले धनकुटामा गर्मी छल्न आउने करिब ६० प्रतिशत नेपाली छन् भने ४० प्रतिशत भारतीय पर्यटक छन् । धनकुटाका नाम्जे, राजारानी, हिले, सिदुवा, पाख्रिवासलगायत तुलनात्मक रूपमा गर्मी कम हुने स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको भिड छ ।