• १३ साउन २०८१, आइतबार

साहित्य सम्मेलनमा कविको जमघट

blog

अमरराज नहर्की

तनहुँ, जेठ २८ गते । दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरिएको छ। गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँको आयोजना तथा व्यास नगरपालिकाको प्रायोजनमा उक्त सम्मेलन आयोजना गरिएको हो। 

लामो खडेरीले गर्मी बढेको र पृथ्वीराजमार्ग विस्तारको क्रममा रहेकाले सडक धुलाम्मे भए पनि कवि त्यसलाई छिचोल्दै दमौलीमा पुग्नुभएको थियो। करिब ३० जिल्लाका कवि दमौलीमा आएको आयोजक गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँका अध्यक्ष सागर उदासले जानकारी दिनुभयो। 

सम्मेलनको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त र व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। साहित्यकार सरुभक्तले देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपछि जुन रूपमा विकास हुनुपर्ने हो, सो अनुरूप हुन नसकेकाले साहित्यकारले भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्ध प्राथमिकता दिएर कलम चलाउनुपर्ने बताउनुभयो।

कविता प्रतियोगितामा २३७ कविता प्राप्त भएकोमा छनोटमा परेका ६५ कवितामा सिराहाका अविनाश भट्टराईको ‘जिन्दगी एउटा पत्रिका हो’ कविता प्रथम, सङ्खुवासभाका सिजन श्रेष्ठको ‘पहेँलो नक्सा’ दोस्रो र झापाका केशव भट्टराईको कविता ‘अपेक्षा’ तृतीय भएको थियो। त्यसै गरी रौतहटका मनोज विश्वकर्माको ईश्वर कल्प, चितवनका सिर्जन अविरलको गाउँमा आमा, विराटनगरका पूजा आराधनाको चौबाटो र जिन्दगी, तनहुँका प्रकाश रम्घालीको जिन्दगीका फुटेजहरू, गोरखाका भरतबाबु ढकालको नारी मुक्ति आह्वान र सिन्धुपाल्चोकका सुन्दर शिरीष शीर्षक कविताले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। 

प्रथम हुनेले ५५ हजार, द्वितीय हुनेले ४० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने छ जनालाई जनही १० हजार रुपियाँ प्रदान गरिएको छ। ‘भाषा, साहित्य र संस्कृतिको उत्थान साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त सम्मेलनमा नेपाली साहित्यका विभिन्न विधामा अतुलनीय योगदान पु-याउने भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमलाई गण्डकी वाङ्मय पुरस्कार २०७९ प्रदान गरिएको थियो। 

प्रतिष्ठानद्वारा राष्ट्रिय कविता प्रतियोगिता दोस्रो साहित्य महोत्सव २०८० मूल आयोजक समितिद्वारा प्रकाशित स्मारिकाको लोकार्पणसमेत गरिएको थियो। उक्त स्मारिकामा कविता प्रतियोगिताका लागि प्राप्त भएका २३७ कवितामध्ये छनोटमा परेका ६५ जना कविका कविता समावेश गरिएको छ।