• १३ साउन २०८१, आइतबार

सामुदायिक बीउ बैंकद्वारा रैथाने बालीको संरक्षण

blog

सामुदायिक बीउ बैंकले संरक्षण गरिएको रैथाने बालीको विउ । तस्बिर : मिना कंडेल

मीना कंडेल

कावासोती, जेठ २६ गते । पूर्वी नवलपरासी कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दैआएको छ । लोप हुँदै जानथालेको अवस्थामा सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गरेको हो । 

रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, उत्पादन कम भए पनि मूल्य धेरै पाइने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरण सहन सक्ने हुनाले अहिले क्रमशः किसान रैथाने प्रजातिका बालीतर्फ आकर्षित हुँदैगएको बीउ बैंकका सचिव दानबहादुर महतोले बताउनुभयो ।

कावासोती –१४, त्रिभुवनटारमा रहेको बीउ बैंकमा हाल धानका मात्रै विभिन्न ४५ प्रजाति रहेको बीउ बैंकका अध्यक्ष पार्वती भण्डारीले बताउनुभयो । कनक जिरा, बकुल्ले अनदी, मगर अनदी, थापा चिनी, आम ज्योति, पहेले धान, घिउपुरी, झिनुवा, आँप झोते, चमेली, मिठाइ, छ्याङा, कालो नुनिया, बासमती, दूधराज, वार, सावित्रीलगायतका धानको बीउ बैंकमा संरक्षण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

बीउ बैंक स्थापना भएर स्थानीय रैथाने जातको बीउ संरक्षण र उत्पादनमा लागेसँगै यस क्षेत्रका किसान क्रमशः स्थानीय जातका बाली लगाउन थालेका छन् । स्थानीय जातका बालीमा रोगको प्रकोप कम देखिने र उत्पादनसमेत राम्रो हुँदैआएको कृषकको भनाई छ । सामुदायिक बीउ बैंकमा ९५३ घरपरिवार आबद्ध छन् । उनीहरूले बीउ बैंकमा रहेका रैथाने प्रजातिका बीउ लिएर खेती गर्नेगरेका छन् । स्थानीय प्रजातिको बीउ उत्पादनमा समेत सहयोग गर्दैआएका छन् ।

रैथाने जातको प्रवर्द्वनका लागि नगरपालिकाबाट समेत आवश्यक सहयोग प्रदान गर्दैआएको कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताउनुभयो । 

रैथाने जात धान कनक जिरा, बकुल्ले अनदी, घिउपुरी, झिनुवा, आँप झोते लगायतका धानका बीउको माग धेरै हुनेगरेको महतोले बताउनुभयो । सिजनअनुसारका अन्य बीउको समेत माग हुनेगरेको उहाँको भनाइ छ ।