• १३ असोज २०८१, आइतबार

सुनसान बन्यो खुवालुङ

blog

कविराज घिमिरे

हिले, जेठ २६ गते । अरुणसहित सप्तकोशीमा अन्य नदी तमोर र दुधकोशी मिसिने स्थान त्रिवेणीमा नदीको बिचमा एउटा ढुङ्गा छ। जसलाई स्थानीय बासिन्दासहित किराँती समुदायले खुवालुङ भनेर चिन्ने गरेका छन्। २०७७ सालमा यो एकाएक चर्चामा आयो। चर्चामा आउने कारण थियो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते विराटनगरमा भएको एक कार्यक्रममा सो ढुङ्गा फुटाएर जेटबोट चलाउने भनेर सार्वजनिक मञ्चबाटै दिनुभएको भाषण। त्यसपछि एकाएक महोल तात्यो। स्थानीयस्तरमा मात्र नभई देश विदेशसम्म यसबारे बहस हुन थाल्यो। दैनिकजसो खुवालुङ क्षेत्रमा विभिन्न जातीय सङ्घ संस्था पुगेर विरोध गर्न थाले। 

त्यही क्रममा अभियन्ताले खुवालुङ पहिचान जोगाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन माग गरे। त्यसका लागि सरकारसँग विभिन्न कार्यक्रमको माग गरे तर पछि सरकार खुवालुङ फुटाउने योजनाबाट पछाडि हट्यो। त्योसँगै अहिले खुवालुङ क्षेत्र सुनसान छ। त्यसयता भने न सरकार खुवालुङ फुटाएर जेटबोट चलाउने योजनामा लागेको छ न अभियन्ताले आन्दोलनको क्रममा भनेको जस्तो खुवालुङको पहिचान जोगाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनेतर्फ लागेका छन्। अहिले अभियन्ताहरू खुवालुङ पुग्नै छाडेको स्थानीय भानु राई बताउनुहुन्छ। त्यतिखेरको आन्दोलन सम्झँदै उहाँले भन्नुभयो, “पहिले त सयौँको सङ्ख्यामा दैनिक अभियन्ता यहाँ आउनुहुन्थ्यो दैनिक कार्यक्रम हुन्थ्यो तर अहिले कोही पनि आएको थाहा छैन यहाँ सुनसान छ।” 

किराँती भाषामा ‘खुवालुङ’ शब्दको अर्थ पानीमा गाडिएको ढुङ्गा भन्ने बुझिन्छ तर सप्तकोशीमा तमोर नदी मिसिने स्थान त्रिवेणीमा रहेको खुवालुङको अर्थ यतिमा मात्र सीमित नभई खुवालुङलाई किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन्। किराँत धर्मग्रन्थ ‘मुन्धुम’ मा उल्लेख भए अनुसार किराँत समुदायले कुनै कार्य सुरु वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ। मुन्धुम अनुसार किराँतीको पुर्खा यही खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वाससमेत रहेको छ।  त्यही कारण किराँत समुदायले यसलाई जोगाई धार्मिक पर्यटनको हब बनाउन माग गरेका  जनजाति महासङ्घ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राईले बताउनुभयो। 

त्यसो त आन्दोलनका क्रममा विभिन्न माग राखिए पनि  सरकार पछाडि हटेसँगै धेरै कुराको माग हटेको हुन सक्ने धनकुटा बहुमुखी क्याम्पसका सहप्राध्यापक इच्छापूर्ण राईले बताउनुभयो। तत्काल आन्दोलनकारीको माग विभिन्न भए पनि मुख्य माग खुवालुङ जोगाउने भएकाले त्यो पूरा भएसँगै माग र आन्दोलन घटेर गएको हुन सक्ने उहाँको भनाइ छ। 

के हो खुवालुङ ?

खुवालुङ धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल सप्तकोशीमा तमोर, अरुण र दुधकोशी नदी मिसिएको स्थान त्रिवेणीमा अवस्थित छ। करिब २० फिट चौडाइको उक्त ढुङ्गा नदीको बिच भागमा गाडिएर बसेको छ। किराँत राईका पुर्खा मुकुबुङ जेठा, हर्कबुङ माइला र रिब्लबुङ कान्छा तीन भाइ हुनुहुन्थ्यो। उहाँहरू समथर भूमिबाट उकालो चढी खुवालुङ पुग्दा ढोका बन्द थियो। मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि उक्त ढोका खुलेपछि पार गर्नुभयो। यता माइला भाइ हर्कबुङले ढोका पार गर्न सक्नुभएन। उहाँले पनि सँगै रहेकी चेलीको कान्छी औँला काटेर रगत दिएपछि ढोका खुल्यो र पार गर्नुभयो। कान्छा रिब्लबुङ भने नदी पार गर्न नसकी तराईतिर फर्किएर बसोबास गरेको कथन छ। जेठाको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीँ बसोबास गरेको, माइला हर्कबुङका सन्तान कोही सुनकोशीको किनार आसपासमा बसोबास गरेका तथा कोही दुधकोशी पछ्याउँदै सोलुखुम्बुको आसपासमा बसोबास गरेको विश्वास गरिन्छ। त्यही आधारमा किराँत समुदायले खुवालुङलाई आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन्।