• १३ साउन २०८१, आइतबार

बिसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

blog

काठमाडौँ, जेठ २६ गते । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ यस वर्ष २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । 

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं प्रविधिको प्रचारप्रसार गर्ने गरी धूमधामका साथ दिवस मनाउने तयारी भइरहेको बताउनुभयो । जलवायु परिवर्तनप्रति कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको उहाँले बताउनुभयो । 

प्रमुख खाद्यान्न बाली धान खाद्य सुरक्षाको प्रमुख आधार रहेको बताउँदै उहाँले यसको आर्थिक, समाजिक, सांस्कृतिक र धार्मिकलगायत महत्व रहेको बताउनुभयो । “धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धति पनि हो,” उहाँले भन्नुभयो, “धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छौँ ।” 

चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यो परिमाण २०७८/७९ को तुलनामा तीन लाख ५५ हजार ८४७ टन बढी उत्पादन भएको हो । आगामी आवमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ ।

आर्थिक सर्वेक्षण अनुसार धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भए पनि हिउँदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास भएको हुँदा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य वृद्धि अनुमान गरिएको छ । विगत वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान व्रmमशः घट्दै गइरहेको छ । आव २०७०/७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहने अनुमान गरेको छ । 

आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन २.७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत आर्थिक वर्षमा यसको वृद्धि २.२ प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ । धान, गहुँ, मकैलगायत खाद्यान्न बालीको उत्पादन ३.८५ प्रतिशतले बढ्ने अनुमान गरेको छ तर यस अवधिमा उखु, जुट, चियालगायतको औद्योगिक बालीको उत्पादन २.६५ प्रतिशतले घट्ने अनुमान छ । चालु आर्थिक वर्षमा धानको उत्पादन ६.९० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको कुल कृषि उत्पादनको परिमाणमा खाद्यान्न बालीको अंश ४४.९५ प्रतिशत, तरकारी १७.४१ प्रतिशत, नगदे बाली १५.२३ प्रतिशत, औद्योगिक बाली १२.५ प्रतिशत, फलफूल बाली ५.८२ प्रतिशत र अन्यको ४.१० प्रतिशत रहने अनुमान गरेको छ ।