• १३ साउन २०८१, आइतबार

अवैध मल नियन्त्रणमा अवरोध, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

blog

फाइल तस्बिर

जनार्जन खत्री

सर्लाही, जेठ २५ गते । सर्लाहीको धनकौल गाउँपालिका –७, बैरिया टोलमा बिहीबार दिउँसो तस्करीको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । स्थानीय राजु सहनीको घरमा लुकाइ राखिएको भारतीय अवैध मल जिल्ला प्रहरी कार्यालय मलङ्गवाको टोलीले नियन्त्रणमा लिन खोज्दा गाउँले आएर अवरोध गरेका हुन् ।

बरामद भएको मल जिल्लातर्फ ल्याउन खोज्दा गाउँलेले ढुङ्गामुढा गरेर अवरोध गर्न थालेपछि पाँच सेल अश्रुग्याँस प्रहार गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । 

जिल्लाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमित कुशवाहकको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय प्रहरीमाथि गाउँलेले ढुङ्गामुढा गर्न थालेपछि प्रनाउ थारुको नेतृत्वमा गएको थप मद्दत टोलीले तस्करीको मल बरामद नियन्त्रणमा लिएर सदरमुकाम मलङ्गवा ल्याएको छ । प्रनाउ थारुका अनुसार सनहीको घरभित्र लुकाइराखिएको ७२ बोरा मल बरामद भएको छ । 

केही बोरा मल गाउँलेले खोसेर लगेका छन् । गाउँलेले ढुङ्गा प्रहार गर्दा इन्स्पेक्टर कुशवाहा सामान्य घाइते हुनुभएको छ । अवैध मल भण्डारण गरेर राख्ने घरधनी राजु सहनी फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।