• १३ असोज २०८१, आइतबार

बालबालिकालाई दादुरा रोग विरुद्धको खोप

blog

बालबालिकालाई दादुरा–रुवेला रोगविरुद्धको खोप लगाईँदै । तस्विर : लीलाधर वली

लीलाधर वली

घोराही, जेठ २५ गते । दाङमा बालबालिकाहरूलाई दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान सुरु भएको छ । ६ महिना भन्दामाथि र १५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरेर आजदेखि खोप अभियान सुरु भएको हो । 

पहिलो चरणमा खोप अभियान आज बिहीबारदेखि जेठ ३१ गतेसम्म सञ्चालन हुने भएको छ । पहिलो चरणमा अभियानअन्तर्गत घोराही उपमहानगरपालिकासहित राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र बङ्गलाचुली गाउँपालिकामा बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार जेठ ३१ गतेदेखि असार ७ गतेसम्म दोस्रो चरणको अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा तुलसीपुर उपमहानगरपालिकासहित दङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकामा खोप लगाइने छ । 

खोप लगाउनका लागि जिल्लामा आठ सय एक वटा खोप केन्द्र स्थापना गरिएको छ । खोप फोकल पर्सन आचार्यले भन्नुभयो, "दाङमा आजदेखि बालबालिकालाई दादुरा तथा रुवेला रोगविरुद्धको खोप लगाउन सुरु गरेका छौँ । त्यसका लागि प्रत्येक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेविकाको व्यवस्था गरेका छौँ ।" 

जिल्लामा करिब दुई लाख २१ हजार बढी बालबालिकाहरूलाई दादुरा–रुवेला रोगविरुद्धको खोप लगाउने तयारी छ । खोप लगाउनका लागि एउटा खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुईजना स्वयम् सेविकाको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

बढ्दो गर्मीका कारण खोप लगाएका बालबालिकाहरूलाई असर देखिने भन्दै खोप फोकल पर्सन आचार्यले खोप लगाएका बालबालिकाहरूलाई कम्तीमा पनि आधा घण्टा घाममा ननिस्किन समेत आग्रह गर्नुभएको छ ।

खोप फोकल पर्सन आचार्यले भन्नुभयो, "खोप लगाएको करिब आधा घण्टासम्म बालबालिकाहरूलाई घाममा जान नदिनका लागि खोप केन्द्रमा आराम कक्षको पनि व्यवस्था गर्न भनेका छौँ । त्यही अनुसार पालिकाहरूले आफ्नो क्षेत्रमा रहेका खोप केन्द्रमा रहेको स्थानमा आराम कक्षको समेत व्यवस्था गर्न भनेका छौँ ।" जिल्लामा खोप केन्द्रहरू विद्यालयमै स्थापना गरिएको छ । 

दाङमा केही महिनाअघि २९ जना बालबालिकाहरूमा दादुराको सङ्क्रमण देखिएपछि सरकारले दादुरा–रुवेला रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ ।