• १३ असोज २०८१, आइतबार

पुल निर्माण अलपत्र

सात वर्षमा दुई वटा मात्रै पिल्लर !

blog

खोटाङ समाचारदाता 

खोटाङ, जेठ २५ गते । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणका लागि ठेक्का लागेको सात वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यति बेला पक्की पुलबाट सवारीसाधन वारपार गर्ने थिए तर हालसम्म धाप्लाङघाटमा नदीको दुई किनारमा पिल्लर ठड्याइएको छ र चार वटा वेल फाउन्डेसन उठाउनुपर्नेमा एउटा मात्र फाउन्डेसन उठाइएको छ ।  

खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने सुनकोशीको धाप्लाङघाटस्थित पक्की पुल निर्माणका लागि २०७३ साल असार ३० गते रसुवा एसएनएस पप्पु जेभीले ठेक्का सम्झौता गरेको थियो । भ्याटबाहेक २२ करोड ५० लाख रुपियाँमा २०७६ साल असार २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 

पुल निर्माण सुरु गरेर गायब भएका ठेकेदारको पर्खाइमा स्थानीय बासिन्दा छन् तर ठेक्का सम्झौता भएको सात वर्षपछि अहिले ठेकेदार पुलको डिजाइन परिवर्तन गर्न माग गरेको बताइन्छ । पटक पटक थपिएको पुलको म्याद आउँदो असार २६ गते सकिँदै छ । दुई सय मिटर लम्बाइ हुने पुलको यति बेला 

‘डिजाइन रिभ्यु’ गर्न लागिएको छ । वेल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी ‘डिजाइन रिभ्यु’ को प्रक्रिया अघि बढाइएको विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताउनुभयो । वेल फाउन्डेसन प्रविधिको पुल निर्माण गर्न कठिन र ढिलासुस्ती भएको भन्दै निर्माण व्यवसायीको आग्रहमा पुलको रिभाइज्ड डिजाइन एन्ड ड्रइङ पेस गरिएको उहाँको भनाइ छ । 

धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौंअघि कच्ची सडक खनिएको थियो तर पक्की पुल नहुँदा गाडी वारपार गर्ने अवस्था छैन । मोटरसाइकल झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको छ । पूर्वी सहरसँग जोडिन धाप्लाङघाटमा पुल निर्माण भएपछि खोटाङको वराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका र भोजपुरका स्थानीयवासीको जीवनशैली फेरिने आशा गरिएको थियो तर ठेकेदारले पुल अलपत्र पार्दा स्थानीय बासिन्दामा निराशा छाएको छ । 

पुल नबन्दा नाकाबन्दीमा बस्न बाध्य भएको वराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो । पालिकामा बाहिरबाट ल्याउने सामान ढुवानी महँगो हुँदा मूल्य महँगो भएको र स्थानीय उत्पादनलाई पनि बाहिर निर्यात गर्न कठिन भएको उहाँको गुनासो छ । २०७४ साल भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त धाप्लाङघाट पुल र भोजपुरको आमचोक गाउँपालिका तथा उदयपुरको रानीटार जोड्ने पुल एकै दिन शिलान्यास गर्नुभएको थियो । कुल ५० करोड १४ लाख ६० हजार रुपियाँको लागतमा पूरा गर्ने गरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको दुवै पुल अलपत्र छन् । 

ठेकेदारको जमानत जफत  

यसैबिच धाप्लाङघाट पुल निर्माणको काममा ढिलासुस्ती गर्ने ठेकेदारको एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) चार करोड ४२ लाख रुपियाँ तानिएको छ । रसुवा एसएनएस पप्पु जेभीको तर्फबाट अग्रिम भुक्तानी जमानत जारी गर्ने सनराइज बैङ्क लिमिटेड, गौरीधारा, काठमाडौँबाट सो पेस्की रकम तानिएको इन्जिनियर भण्डारीले बताउनुभयो ।  

लामो समय पुल अलपत्र पारेपछि खोटाङ प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले कार्यालयलाई पटक पटक दबाब दिएर ठेकेदारको जमानत जफत गर्न लगाएको बताउनुभयो । ठेकेदारले सम्झौता अनुसार कार्यसम्पादन नगरेको भन्दै सडक विभाग पुल सेक्टर धरानले हप्ता दिनभित्र राष्ट्रिय वाणिज्य बैङ्क इनरुवा, सुनसरीमा रहेको कोष तथा लेखा नियन्त्रकको कार्यालयको धरौटी खातामा अग्रिम भुक्तानी जमानत जम्मा गर्न २०७९ फागुन २५ गते र माघ २६ गते बैङ्कलाई पत्राचार गरेको थियो । 

पेस्की रकम जम्मा गर्न आलटाल भइरहेको पाइएपछि सनराइज बैङ्क र नेपाल राष्ट्र बैङ्कमा पुगेर पटक पटक दबाब दिनु परेको सांसद राईको भनाइ छ । समयमै काम नगरी खोटाङलाई पछाडि धकेल्न खोजेकाले ठेकेदारलाई धरौटी रकम जफत गरेर दण्ड दिइएको उहाँले बताउनुभयो ।