• १३ साउन २०८१, आइतबार

आन्तरिक सुशासन अभावले सहकारीमा समस्या

blog

काठमाडौँ, जेठ २५ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले आन्तरिक सुशासन अभावका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन समग्र सहकारीका सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

सहकारीमा देखिएको आन्तरिक सुशासन अभावलाई हटाउन सहकारीमा लागेका अभियन्ता स्वयम् तयार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्कर्षमा पुगिँदैन । समस्या समाधानका लागि भित्रैबाट पहल सुरु गरौँ ।”

केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शङ्काको दृष्टिकोणले हेरिएको भन्दै उहाँले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सदस्यले सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताउनुभयो । गलत काम गर्ने सहकारीलाई सङ्घ, महासङ्घले संरक्षण दिने भन्दा पनि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गनुभयो ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सङ्घीय सहकारी विभागले संयुक्त रूपमा बुधबार राजधानीमा आयोजना गरेको कार्यव्रmममा सचिव रेग्मी भन्नुभयो, ‘गलत काम गर्नेलाई कारबाही गर्दा सङ्घ, महासङ्घले साथ दिन आग्रह गर्दछु । मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ ।”

सचिव रेग्मीले थप्नुभयो, “सहकारीमा समस्या आयो भनेर डराउनु पर्दैन । सहकारीको समस्या समाधान हुन्छ । सबै सहकारी समस्यामा छैनन् ।” धेरै जसो सहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या भएको उहाँको भनाइ थियो ।

रकम फिर्ता नगर्ने सहकारीलाई कारबाही

कार्यव्रmममा बोल्दै सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले बचतकर्ताको रकम फिर्ता गर्दिनँ भन्ने सहकारी सञ्चालकलाई सहकारी ऐनको १२५ दफाबमोजिम कारबाही गरिने बताउनुभयो । उहाँले सहकारीहरू सहकारीको मूल्य मान्यता र सिद्धान्तबाहिर गएर काम गर्दा समस्या आएको बताउनुभयो । अहिले सहकारीमा आएको समस्या कोभिडका कारणले मात्र नभएर सहकारी सञ्चालकले बचतकर्ताको पैसा आफूखुसी लगानी गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कोभिडका कारण छिटो समस्या आएको हो । सहकारीले नियमभन्दा बाहिर रहेर काम गरेका हुँदा एक पटक समस्या आउने अवस्था रहेको थियो । सहकारीमा ठुलो वित्तीय कारोबार हुने भएकाले विभागबाट अनुगमन गरी समस्या समाधान गर्न सक्दैन ।”

त्यस्तै पूर्वसहकारी सचिव गोपीनाथ मैनालीले सहकारी संस्थाहरू सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताउनुभयो । “सुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नहुँदा समस्या बढेको हो,” उहाँले भन्नुभयो, “राजनीतिक छाता ओढेका, प्रभुत्व बढी भएका तथा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति भएका सहकारीमा समस्या देखिएको हो ।”

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनुपर्ने बताउनुभयो । समयमा ऐन कानुन प्रभावकारी कार्यान्वयन भएको भए अहिलेको जस्तो समस्या नआउने जनाउँदै उहाँले विषम परिस्थितिका कारण केही संस्था समस्यामा रहेका र तिनलाई बचाउन सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।

“बैङ्क तथा वित्तीय संस्थामा ब्याजदर बढेका कारण सहकारीको पैसा बैङ्कमा जाँदा पनि समस्या भयो,” उहाँले भन्नुभयो, “स्वचालित तरिकाले ब्याजदर निर्धारण गर्नु पर्छ ।” नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अभियानको ट्र्याकमा आएका सहकारीकै नियमन गर्न नसकेको अवस्थामा ट्र्याकबाहिर भएकालाई नियमन गर्न झन् समस्या भएको बताउनुभयो ।