• १३ साउन २०८१, आइतबार

पानी नपर्दा धानको बीउ राख्न समस्या

blog

धानको वीउ । फाइल तस्बिर

मीना कंडेल

कावासोती, जेठ २२ गते । पूर्वी नवलपरासीका किसानले लामो सममयसम्म पानी नपर्दा धानको बीउ राख्न नपाएर किसान चिन्तित भएका छन् । जेठको तेस्रो साता सकिँदा समेत बीउ राख्न नपाएपछि किसान चिन्तित बनेका हुन् । 

असार १५ मा रोपाई गर्न जेठ १५ सम्म बीउ राखिसक्नुपर्ने हो । तर पानी नपरेका कारण जेठ महिना सकिन लाग्दा पनि बीउ राख्न पाइएको छैन, कावासोतीका कृषक पूर्णप्रसाद सापकोटाले गुनासो गर्नुभयो ।

असारको पहिलो सातासम्म बीउ नछर्ने हो भने रोपाइँ ढिलो हुने र उत्पादनमा ह्रास आउने उहाँको भनाइ छ । एक हप्तादेखि चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो । 

यसको प्रत्यक्ष असर किसानलाई परेको उहाँको भनाइ छ । बीउ राखिसकेका किसानहरू पनि घामले बीउ सुक्ने होकि भन्ने चिन्तामा रहेका छन् “बोरिङबाट पानी तानेर बीउ त राखियो पानी परेन भने बोरिङको पानीले कति धान्ला ?”

‘जेठ महिनाको मध्यसमयमा वर्षा हुनुपर्ने हो । केही वर्षअघि आकाशे पानीको भरमा धानको बीउ राख्ने गरिन्थ्यो, अहिले खडेरी परेको छ’ कावासोती –१७ का नारायण पौडेलले भन्नुभयो, ‘सिँचाइ सुविधा हुनेले राखेको बीउ पनि चर्को घामले पानी तातेर सुक्न लागेको छ ।’ धान रोप्न ढिलाइ हुँदा उत्पादन घट्नसक्ने उहाँले बताउनुभयो । 

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार धानको बीउ राख्ने समयमा पानी नपर्नु र अत्यधिक गर्मी बढ्नाले खेतीपातीमा समस्या भएको छ । पम्पबाट पानी तानेर सिँचाइ गर्न नदी तथा तलाउको सतह घटेको छ, पानी नपरेका कारण किसान समस्यामा परेको लामिछानेले बताउनुभयो । 

अब एक साता पानी नपर्ने हो भने रोपाइँको उपयुक्त समय नै घर्किने उहाँको भनाइ छ । पूर्वी नवलपरासीमा १८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । एक वर्षमा असार र चैत गरेर दुई पटकसम्म किसानले धान खेती गर्ने गर्दछन् ।