• १३ असोज २०८१, आइतबार

गाउँमै डेरी स्थापना भएपछि किसान उत्साहित

blog

डेरी उद्योग उद्घाटन कार्यक्रम ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २० गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा डेरी उद्योग स्थापना भएपछि किसान तथा उपभोक्तालाई सहज भएको छ। मैवाखोला गाउँपालिकाको सहयोगमा गाउँमै डेरी उद्योग स्थापना भएपछि दुग्धजन्य वस्तु खरिद बिक्री तथा उपभोग गर्नका लागि सहज हुने भएको हो। 

दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँमै डेरी उद्योग स्थापनाका लागि गाउँपालिकाले सहयोग गरेको हो। गाउँपालिकाको आर्थिक सहयोगमा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुको तेल्लाबुङमा स्थापना गरिएको डेरी उद्योगको पालिका अध्यक्ष विजयप्रकाश वनेमले उद्घाटन गर्नुभएको छ। 

उद्योगको उद्घाटन गर्नु हुँदै अध्यक्ष वनेमले जनप्रतिनिधिमा निर्वाचित भएसँगै कृषि क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको र गाउँमै डेरी उद्योग स्थापनाले कृषि क्षेत्रको विकासको शुरुवात भएको बताउनुभयो। उहाँले डेरी सञ्चालनले स्थानीय पशुपालक किसानलाई बढी लाभ पुग्ने र उपभोक्तालाई पनि सहज हुने बताउनुभयो। उद्घाटनमा गाउँपालिका उपाध्यक्ष कमलकुमार लिम्बूको पनि उपस्थिति रहेको थियो। 

यसअघि मैवाखोला गाउँपालिकाको चालू आर्थिक वर्षको कार्यक्रमबाट नै ढुङ्गेसाँघु तेल्लाबुङका पशुपालक किसानलाई जर्सी र होलिस्टेन उन्नत जातको गाई अनुदानमा वितरण गरिएको थियो। वडा १ का वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार लागत साझेदारीमा विभिन्न १३ जना किसानलाई गाई वितरण गरिएको थियो। 

उन्नत जातको गाई वितरणपछि गाउँमा दूध उत्पादनमा पनि कमी नआउने र डेरी उद्योग स्थापनाले बिक्रीमा पनि समस्या नहुने विश्वास लिएको वडाध्यक्ष तामाङले बताउनुभयो। उहाँका अनुसार डेरी स्थापनासँगै गाउँमै दूध प्रतिलिटर ६० रुपियाँमा बिक्री हुन थालेको छ भने दूध उत्पादक किसानले आम्दानी पनि लिन थालेका छन्। 

मैवाखोला गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष तामाङका अनुसार डेरी उद्योगबाट दूध साथै छुर्पी, मिठाइ, घ्युलगायत दुग्धजन्य वस्तु उत्पादन हुने छ। डेरी स्थापनाको प्रारम्भमा दैनिक एकसयदेखि एकसय ५० लिटरसम्म दूध सङ्कलन हुन थालेको छ। डेरी उद्योग भने तेल्लाबुङमा स्थानीय किसान जीवन खतिवडाको अगुवाइमा सञ्चालनमा ल्याइएको बताइएको छ।