• १३ साउन २०८१, आइतबार

कृषकलाई हंसराज धानको बीउ वितरण

blog

कृषकलाई हंसराज धानको बीउ वितरण गरिदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ २० गते । रैथाने बालीको संरक्षणका लागि कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय हंसराज धानको बीउ वितरण गरेको छ । ९० प्रतिशत अनुदानमा जिल्लाका कृषकलाई २४ सय ५० केजी हंसराज धानको बीउ वितरण गरेको हो । 

स्थानीय हंसराज धानको बीउको संरक्षण तथा बाली प्रवर्धन गर्ने उद्देश्यले धानको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताउनुभयो । वितरण गरिएको बीउ चार सय हेक्टर क्षेत्रफलमा लगाइने बताइएको छ । 

खाँदा मिठो हुने, नरमपन हुने, बास्नादार हुने यसको विशेषता हो । हंसराज विकासका लागि राष्ट्रिय तहमा बीउबीजन गुणस्तर केन्द्र रहेको छ । त्यसको प्राविधिक मापदण्डअनुसार हंसराज बीउलाई राष्ट्रिय बीउमा सूचीकृतका लागि स्थानीयस्तरमै बीउदेखि, हार्वेष्ट धान काट्ने बेलासम्मको विभिन्न चरणको अध्ययन गरिने भण्डारीले बताउनुभयो । 

‘स्थानीयस्तरमा विकास भएको जातको रूपमा हंसराज बीउ सूचीकृत हुनेछ’ उहाँले भन्नुभयो, ‘बीउको अध्ययनका लागि लगाएका कृषकलाई प्राविधिक सहयोग, साना सिँचाइ, विषादित र बजारीकरणमा समेत सहयोग गरिनेछ ।’ कृषि विज्ञ समेत रहनुभएका भण्डारीले हंसराज बिउको संरक्षण, विविधीकरण, उत्पादन वृद्धिका लागि आगामी वर्ष पनि कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो । 

स्थानीयस्तरमा हंसराज बीउको उत्पादनका लागि कृषक कृष्ण घिमिरेले नेतृत्व लिनुभएको छ । उहाँको इस्मा चौरासीमा घिमिरे कृषि तथा पशुपन्छी फार्म रहेको छ । घिमिरेले २०७१ सालदेखि खाद्यान्न बाली बीउ उत्पादनमा काम गरिरहनुभएको छ । बीउबीजन गुणस्तर नियन्त्रण कार्यालयमा सूचीकृत गरेपछि मात्रै यसको बीउ बाहिर निर्यात गर्न सकिन्छ । स्थानीय जातको रूपमा रहेको हंसराज धानको विकासका लागि कृषकहरू निरन्तर लागिरहेको उहाँको भनाइ छ ।  

‘प्रतिफलका हिसाबले पनि यो धानको बीउ कमजोर छैन’ घिमिरेले भन्नुभयो, ‘हाम्रा स्थानीय जातका धानहरू लोप भएका छन् । स्थानीय जातका धानहरूको संरक्षण, उत्पादनमा लाग्नुपर्छ ।’ स्थानीय जातको रूपमा रहेको हंसराज धानको महत्त्व पनि बढिरहेकाले यसलाई राष्ट्रिय बिउमा सूचिकृत गर्ने उद्देश्यले लागिपरेको उहाँको भनाइ छ । वडाध्यक्ष ढालबहादुर कुँवरले स्थानीय तहहरू पनि रैथाले बालीको संरक्षणमा लाग्न आवश्यक देखिएको बताउँदै यसको प्रवर्धनका लागि आफूहरू लाग्ने बताउनुभयो ।