• २५ वैशाख २०८२, बिहिबार

सम्पादक सल्लाहकार महर्जनद्वारा पद बहाली

blog

पद बहालीपछि सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जन । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, जेठ १६ गते । गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्र संस्थानमा पद बहाली गर्नुभएको छ । उहाँलाई जेठ १२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदबहालीको क्रममा सम्पादक सल्लाहकार महर्जनले सरकारका सुशासन र समृद्धिको लक्ष्यलाई प्राथमिकता दिन र आवाजबिहीनहरूको आवाजलाई स्थान दिन आग्रह गर्नुभयो । गणतन्त्र, सङ्घीयता, समावेशीका विषयवस्तुलाई अझ प्राथमिकता दिन र नयाँ नेपालका ३८ भाषाका पृष्ठलाई अझ लोकप्रिय बनाउन सबैसँग सहकार्य गरेर जाने बताउनुभयो । 

यसअघि उहाँलाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी,   महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाललगायतले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।  


गोरखापत्रका संस्थापक जयपृथ्वीबहादुर सिंहको अर्धकदको शालिकमा माल्यार्पण गर्नुहुँदै गोरखापत्र संस्थानका नवनियुक्त सम्पादक सल्लाहकार उपेश महर्जन । 

काठमाडौं कीर्तिपुर नगरपालिका–७ इटागोल निवासी ४३ वर्षीय महर्जनले करिब १६ वर्षदेखि गोरखापत्रमा रहेर रिपोर्टिङ तथा सम्पादन कार्य गर्नुभएको छ । उहाँले गोरखापत्र दैनिक, गोरखापत्र अनलाइन तथा पृष्ठ संयोजक भएर कार्य गरिसक्नु भएको छ । 

प्रेस सेन्टर, नेपालको केन्द्रीय उपाध्यक्ष  महर्जनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नुभएको छ । उहाँले नेपाल र विश्वको पहिचानमा आधारित सङ्घीयताका विषयमा शोधकार्य गर्नुभएको छ । उहाँका विभिन्न पत्रपत्रिकामा अनुसन्धानमूलक लेख रचना प्रकाशित छन् ।  

उहाँ कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसमा प्राध्यापन पनि गर्नुहुन्छ । सम्पादक सल्लाहकार महर्जनसँग १० वर्षे जनयुद्धको क्रममा रोल्पा, रुकुमलगायतका सघन सङ्घर्ष भएका जिल्लामा रहेर युद्ध पत्रकारिता गरेको अनुभव पनि छ । 


गोरखापत्र संस्थानका नवनियुक्त सम्पादक सल्लाहकार उपेश महर्जनलाई बधाई दिनुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायत । तस्बिर : सागर बस्नेत