• १६ चैत २०८०, शुक्रबार

बजेट बनाउन सुझाव सङ्कलन

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ १६ गते । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले योजना र कार्यक्रम  तयारीका लागि नागरिकबाट सुझाव सङ्कलन गरेको छ। पालिकाले कृषि र पर्यटनलाई बजेटको विशेष प्राथमिकतामा राख्ने योजना बनाएको छ। 

नगरपालिकाका प्रमुख लालवीर भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजनको पूर्वतयारीस्वरूप नागरिकसँग सुझाव सङ्कलन गरिएको हो। सबै वडा पुगेर बस्तीस्तरको योजना छनोट सम्पन्न गरिएको छ। सुझावकै आधारमा जनताको आयआर्जनसँग प्रत्यक्ष जोडिएका सवाललाई प्राथमिकतामा राखेर योजना बनाउन लागिएको प्रमुख भण्डारीले बताउनुभयो।

उहाँका अनुसार रोजगारी सिर्जना हुने खालका योजनालाई अघि सारिने छ। युवा, महिला, लक्षित वर्गलाई तालिममार्फत स्वरोजगार बनाउने, शैक्षिक क्षेत्रको सबलीकरण, स्वास्थ्य सेवा प्रणालीमा सुदृढीकरण, दिगो र भरपर्दो पूर्वाधार निर्माणमा जोड दिइने छ। लेकबेँसी नगरपालिका पनि आव २०८०/८१ का लागि योजना बनाउने कार्यमा जुटिसकेको छ। वडास्तरमा छलफल भएर योजना नगरपालिकामा आइपुगेकाले विषयगत कार्यालयको योजना तर्जुमाको छलफल सुरु गरेको नगर प्रमुख उमेशकुमार पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार विषयगत कार्यालयबाट आउने योजना र वडास्तरका योजनाका आधारमा नगरपालिकाले समग्र नगरपालिकाको योजना बनाउने भएको छ। वडास्तरबाट खानेपानी, शिक्षा, बाटो, बत्तीको माग आएका छन्। महिला तथा बालबालिका, पर्यटन र कृषिलाई समावेश गर्ने गरी योजना वडाबाटै आइपुगेका छन्। 

कर्णाली प्रदेशका अधिकांश स्थानीय तहले बस्तीस्तरका योजना सङ्कलन गरिसकेका छन्। सोही अनुसार नीति तथा कार्यक्रम   र बजेट बनाउने तयारी गरिएको छ। पूर्वाधार विकास प्राथमिकतामा पर्ने गरेको स्थानीय सरकारले अब भने सामाजिक रूपान्तरणलाई पहिलो प्राथमिकतामा राख्ने जनाएका छन्।