• १३ असोज २०८१, आइतबार

खिजिदेम्बाको जग्गा वर्गीकरण

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, जेठ १६ गते । खिजिदेम्बा गाउँपालिकाले भूवर्गीकरण गरेको छ। भूउपयोग नीति निर्माण गरेर पालिकाको जग्गा वर्गीकरण गरिएको हो।

गाउँपालिकाले बनाएको भूउपयोग नीति अनुसार जग्गालाई सात प्रकारमा वर्गीकरण गरी कार्यपालिकाबाट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले बताउनुभयो। आवासीय क्षेत्र, कृषि क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल सिमसार क्षेत्रलगायतका आधारमा वर्गीकरण गरिएको उहाँको भनाइ छ।

खिजिदेम्बा गाउँपालिका भूउपयोग वर्गीकरण आधार र मापदण्ड–२०७९ तयार गरी गाउँपालिकाको भूउपयोग वर्गीकरण अनुसार ‘जिआइएस सिस्टम’ बमोजिम नक्सा अद्यावधिक गरिएको छ। भूमि अधिकार तथा स्वामित्वको सुरक्षा, सबै नागरिकका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था, किसानको कृषि भूमिमा सहज पहुँच, पूर्वाधारको दिगो विकास, व्यवस्थित भूमि बजार, खाद्य अधिकारको सुनिश्चितता, वातावरण संरक्षण, जलवायु परिवर्तनको कारणबाट पर्ने असरको न्यूनीकरण, गरिबी न्यूनीकरण, लैङ्गिक समानता र भूमिसम्बन्धी सवालको दिगो र स्थायी समाधानका लागि सरकारले समयसापेक्ष भूमि नीति जारी गरी लागु गरिएको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो।

भूउपयोग ऐन, २०७६ को दफा १८ ले सम्बन्धित गाउँ कार्यपालिकालाई स्थानीय भूउपयोग परिषद्का रूपमा कार्य गर्ने व्यवस्था गरेको अवस्थामा भूउपयोग योजना स्वीकृत गर्ने, क्षेत्र वर्गीकरण गर्ने, नक्सा अद्यावधिक गर्ने, भूउपयोग योजना कार्यान्वयन गर्ने जस्ता अधिकार र जिम्मेवारी स्थानीय भूउपयोग परिषद् र कार्यान्वयन समितिले कार्यअघि प्रतिवेदनसमेत तयार गरिसकेको जानकारी उहाँले दिनुभयो। भूउपयोग परिषद्को गत पुस २५ गते बसेको बैठकले वर्तमान ऐन तथा कानुनले व्यवस्था गरेबमोजिम गाउँपालिकाको वडागत भूउपयोग वर्गीकरण गरिएको पालिकाले जनाएको छ।