• ९ जेठ २०८१, बुधबार

कीर्तिमानी आरोही बुढा मगर सम्मानित

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुहुँदै । तस्बिर : अध्यक्षको सचिवालय

काठमाडौं, जेठ १० गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सिनाले उहाँकै कार्यालय सिंहदरबारमा बुधबार कीर्तिमानी आरोही बुढामगरसहित उहाँको टोलीलाई सम्मान गर्नुभएको हो । 

सम्मान गर्दै अध्यक्ष तिमिल्सिनाले बुढामगरले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर सबैको प्रेरणाको स्रोत भएको बताउनुभयो । 

उहाँले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो,“ सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नुपर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नोतर्फबाट पहल हुन्छ ।”  

बुढामगरले सम्मान  गरेपछि  हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताउनुभयो । 

उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरूलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो । 

शारीरिक अशक्त भएका व्यक्तिहरूलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो । 

उहाँले भन्नुभयो, “आज सम्मानित हुन पाउँदा निकै खुसी छु । यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ ।आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपाङ्गता भएका व्यक्तिहरूले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ।’’ 

बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेक्नुभएको हो । 

यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नि (घुँडा माथिबाट दुवै अंगविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ । 

कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।