• १३ साउन २०८१, आइतबार

स्वैच्छिक अवकाश लिने शिक्षकलाई तीन लाख दिइने

blog

तामाकोसी गाउँपालिकाको कार्यालय । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

दोलखा, जेठ १० गते । दोलखाको तामाकोसी गाउँपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षक लाई तीन लाख रुपियाँ दिने निर्णय गरेको छ । गाउँपालिकाले स्थायी सेवा अवधि २० वर्ष पूरा भएको र ५५ वर्ष उमेर पूरा भएका शिक्षकले अवकाश लिएमा सो रकम दिने निर्णय गरेको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै शिक्षक स्वर्णिम अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि –२०७९ अनुसार अनुसार अधिकतम तीन लाख रुपियाँसम्म उपलब्ध गराउने जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने शिक्षकलाई जेठ २४ गतेभित्र निवेदन दिन पालिकाले सूचना जारी गरेको छ ।

पालिका भित्रका विद्यालयमा कार्यरत आधारभूत तहमा १ सय ८६ जना शिक्षक कार्यरत छन् । प्राथमिक तहको स्थायी दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या १ सय ३९ छ । यी मध्ये १५ देखि २० जनासम्म शिक्षकले सो योजनामा सहभागिता जनाउने अनुमान गरेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।  

दरबन्दी मिलान गर्दा कटौती गर्नुपर्ने अवस्था नभए पनि धेरै वर्ष गरेकाहरू बिदा लिन चाहेको अवस्थामा नयाँ शिक्षक ल्याउँदा शैक्षिकस्तर उकास्न सकिने अपेक्षासहित सुविधा दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई दरबन्दी फिर्ता दिनुपर्ने जरुरी त थिएन । पुराना शिक्षक गए भने नयाँ योग्य शिक्षक ल्याउन पाइन्छ भनेर जान चाहनेलाई अवसर दिइएको हो ।’ लामो अवधि शिक्षण सेवा गरेका शिक्षकले दरबन्दी मिलान प्रक्रियालाई सहज बनाउन सहयोग गर्ने सुवेदीले बताउनुभयो ।