• १३ साउन २०८१, आइतबार

हावाहुरीले छाना उडायो, पशुचौपाया मरे

blog

पाटन नगरपालिका –१०, मा हावाहुरीले उडाएको विद्यालयको छाना । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, जेठ १० गते । बुधबार राति बैतडीमा हावाहुरीसहित चट्याङ पर्दा पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा गाई, भैँसी र बाख्रा मरेका छन् । पाटन नगरपालिकाका विद्यालय र बजार क्षेत्रका घरको छाना उडाएको छ ।

गए राति १ः४५ बजे पञ्चेश्वर गाउँपालिका –५, रन्तोलीका जनसिंह भण्डारीको आँगनमा चट्याङ पर्दा गोठमा बाँधेको एउटा गाई मरेको छ । मेलौली नगरपालिका –७, काँडाका देवदत्त भट्ट र शङ्कर भट्टका बाख्रा मरेका छन् । दोगडाकेदार गाउँपालिका –७, का रामदत्त भट्ट र कृष्णानन्द भट्टको गोठमा बाँधेका दुई भैँसी मरेको प्रहरीले जनाएको छ । 

त्यसैगरी पाटन नगरपालिका –८, तिमलेका कैलाश ऐरको चट्याङले एक बाख्रा मर्नुका साथै घर र खानेपानीको धारामा क्षति पुगेको छ । हावाहुरीले पाटन नगरपालिका –८, खोडेपे बजारका चार वटा वटा पसलको छाना समेत उडाएको छ । पाटन नगरपालिका–८, ज्याफूस्थित जनप्रिय आधारभूत विद्यालय र पाटन नगरपालिका –१०, पनालीमा रहेको सिद्धसिगास आधारभूत विद्यालयको छाना उडाएको छ । 

हावा हुरी र चट्याङले गरेको क्षतिबारे विवरण सङ्कलन गर्ने काम भइरहेको पाटन नगरपालिका –८, का वडा अध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो । चट्याङले गरेको  क्षतिको विवरण लिन स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

जल तथा मौसम विज्ञान विभागले जेठ १० र ११ गते पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको असरका कारण चट्याङसहित हावाहुरी र असिना पानी पर्ने जनाएको छ ।