• १३ साउन २०८१, आइतबार

मनोहरा पुल क्षेत्रमा बनाइएका संरचना हटाइँदै

blog

मनोहरा पुल क्षेत्र नजिक रहेको स्थानमा अतिक्रमण गरेर बनाइएका संरचनामा मनोहरा जग्गा एकीकरण आयोजनाले चलायो डोजर तस्बिर : विकाश द्वारे

काठमाडौं, जेठ १० गते । मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संरचना हटाउन सुरु गरेको छ ।

आयोजनाका उपनिर्देशक निर्मलराज बरालले सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको जानकारी दिनुभयो ।

उहाँले आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भर्‍याङ, पर्खाललगायतका संरचना हटाउन सात दिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने बताउनुभयो ।

यसअघि अतिक्रमित घरटहरा, छाप्रा, भर्‍याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताउनुभयो ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका –१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको छ । यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौंतर्फका सबै अतिक्रमित संरचना भत्काइने उहाँले बताउनुभयो ।


मनोहरास्थित टहरामा बस्दैआएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उहाँले जानकारी दिनुभयो ।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गतसाता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिङ गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ । भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उहाँको भनाइ छ ।