• १३ साउन २०८१, आइतबार

बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न छलफल

blog

काठमाडौँ, जेठ १० गते  । काठमाडौँका चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रसँग छलफल भएको छ । 

इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसनलगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो । आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ चोभारमा सुक्खा बन्दरगाह निर्माण भई २०७८ चैत २२ देखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिले निजी क्षेत्रलाई चोभार सञ्चालनको जिम्मा दिने तयारी गरेको जनाएको छ । 

छलफलमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि निजी क्षेत्रको सहयोग र साथको अपेक्षा रहेको बताउनुभयो । वीरगन्ज एकीकृत जाँच चौकी र वीरगन्ज सुक्खा बन्दरगाहमा रहेका एक हजार ९५० वटा नयाँ जिप र भ्यानलाई चोभार सुक्खा बन्दरगाहमा ल्याउने सम्बन्धमा कानुनी व्यवस्था भइसकेको उहाँले जानकारी दिनुभयो । 

विदेशबाट आयातित गाडी वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउने व्यवस्थाका गर्नका लागि उहाँले अनुरोध गर्नुभयो । नयाँ गाडीको आयातका लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँच पास हुने गरी नयाँ एलसी खोलिएको र सोहीबमोजिम नयाँ गाडीहरू चोभार सुक्खा बन्दरगाह काठमाडौँमा भन्सार जाँचपास हुने समितिले जनाएको छ । समिति र नाडाबिच सम्पन्न उक्त छलफलमा नाडाले सबै व्यवसायीलाई चोभार सुक्खा बन्दरगाहबाट सवारी जाँचपास गराउन अनुरोध गर्ने विषयमा समेत सहमति भयो । 

चोभार सुक्खा बन्दरगाहबाट दैनिक दुई/तीन वटा सवारीसाधनले सुक्खा बन्दरगाहको सेवा उपभोग गरिरहेको र गोदाममा समेत सामान भण्डारण गरिएको समितिले जनाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारतबिच हाल विराटनगरमा एक, वीरगन्जमा दुई, भैरहवामा एक र काँकडभिट्टामा एक गरी कुल पाँच वटा र चीनतर्फ सिन्धुपाल्चोकको तातोपानीमा एक सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी सञ्चालन भइरहेका छन् । चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न समितिले सम्बन्धित निकायसँग निरन्तर छलफल र अन्तव्रिर्mया जारी राखेको जनाएको छ ।