• १३ असोज २०८१, आइतबार

स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम

blog

उत्कृष्ट स्रोत शिक्षक चन्द्रमणि सुब्बालाई सम्मान गरिँदै । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान गरेको छ । रिड नेपालले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका विभिन्न विद्यालयका स्रोत तथा प्रतिनिधि शिक्षकलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो। 

ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका केही वडालाई कार्यक्षेत्र बनाएर रिड नेपालले शैक्षिक गतिविधि गर्दै आएको छ । शिक्षण सिकाइका क्रममा कक्षाकोठामा देखिने समस्या समाधानको सहजीकरण गर्न जिम्मेवारी तोकिएका १३ जना स्रोत तथा प्रतिनिधि शिक्षकलाई सहभागी गराई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको रिड नेपालले जनाएको छ।

क्षमता अभिवृद्धि तालिमको सहजीकरण रिड नेपालमा आबद्ध प्रशिक्षकले गर्नुभएको बताइएको छ । क्षमता अभिवृद्धि तालिमले कक्षा कोठामा देखिने समस्या सहज रूपमा समाधान गर्न र शिक्षण सिकाइको पहुँच विद्यार्थीसम्म पुर्‍याउनलाई थप सहयोग पुग्ने विश्वास लिएको रीड नेपाल कार्यक्रमका जिल्ला प्रबन्धक राजेन्द्र पन्तले बताउनुभयो । सिकाइको सुनिश्चितता गर्न र शैक्षिक गुणस्तर सुधार गर्नमा पनि तालिम उपयोगी हुने अपेक्षा राखिएको पन्तले बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले तालिमबाट सिकेको सीप र क्षमतालाई आफ्नो विद्यालय तथा कक्षामा प्रदर्शन गर्न सहभागी शिक्षकलाई सुझाव दिनुभयो । विद्यालयको शैक्षिकस्तर सुधार गर्न सकिन्छ भन्ने सोच लिएर नियम र अनुशासनलाई ख्याल गर्न पनि भट्टराईले आग्रह गर्नुभयो ।

उहाँले स्थानीय, प्रदेश र सङ्घीय सरकारको शिक्षा क्षेत्रमा राम्रै लगानी रहेको चर्चा गर्दै यसको मूल्याङ्कन र अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । राज्यको लगानी साथै शिक्षा क्षेत्रमा योगदान गर्दै आएका निकाय वा संस्थाहरूलाई सहयोग पुग्नेगरी शिक्षकले भूमिका निर्वाह गर्नसमेत आग्रह गर्नुभयो ।

यता स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिमसँगै हालसम्मको शैक्षिक उपलब्धिसम्बन्धी समीक्षा तथा आगामी योजनाबारे छलफलसमेत गरिएको रीड नेपालकी शिक्षा विकास अधिकृत रोमाकुमारी माबोले जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घका जिल्ला सचिव सुवास आचार्यले विद्यार्थीलाई विद्यालयमा केन्द्रित गराउन हालसम्म रिड नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्नुभयो । 

यसैबीच हालसम्म प्रभावकारी जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कन गर्दै रिड नेपालले फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि सुब्बालाई सम्मानसमेत गरेको छ । सो विद्यालयका स्रोत शिक्षकका रुपमासमेत रहनुभएका प्रधानाध्यापक सुब्बालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको रिड नेपालकी कर्मचारी मनीषा तामाङले जानकारी दिनुभयो । 

रिड नेपालले सन् २००७ देखि हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका वडाहरूमा कार्यक्षेत्र बनाएर शैक्षिक क्षेत्रमा निरन्तर योगदान गर्दै आइरहेको छ । रिड नेपालले कार्यक्षेत्र भित्रका ३५ वटा सामुदायिक विद्यालयमा विद्यालयको पूर्वाधार क्षेत्र, शिक्षण सिकाइ, शिक्षक तथा विद्यार्थीका लागि तालिम, अतिरिक्त क्रियाकलाप लगायतसँग सम्बन्धित कार्य गरिरहेको छ ।